काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी आन्दोलनले दलहरूबीचको एकता गर्ने अवस्था निर्माण गरेको बताएका छन् ।
बुधबार भृकुटीमण्डपमा आयोजित पार्टी एकता सभालाई सम्बोधन प्रचण्डले जेनजी आन्दोलनमा सहभागी युवाले दलहरुको कमजोरी उजागर गरेको बताएका हुन् ।
उनले जेनजीले हामी कहाँ चुक्यौँ भनेर सामाजिक संजालमा भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा आवाज उठाइदिएको बताए । उनले यो दलहरुका लागि समीक्षा गर्ने ऐतिहासिक अवसर भएको समेत बताए ।
उनले भने, ‘जेनजी आन्दोलनले कमजोरी उजागर भयो । हामी कहाँ चुक्यौँ भनेर सोसल मिडियामार्फत भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा आवाज उठाइदिनुभयो । पार्टी सच्चिनुपर्छ भनेर आन्दोलनमार्फत नवपुस्ताले सुझाव दिनुभयो । एकै दिनमा धेरै बलिदान गर्ने महान सहिदहरूलाई सम्मान गर्न चाहन्छु ।’
उनले जेनजी आन्दोलनले एकता गर्ने ठाउँमा पुर्याएको बताए । उनले भने, ‘एकताको नयाँ सुरुवात गर्ने ठाउँमा आउँथ्यौँ, वा नआउनेथ्यौँ । तर, जेनजी आन्दोलनले यति चाँडै एकता हुने अवस्थामा ल्याइदियो ।’ उनले अब नयाँ पार्टी नयाँ ढंगले अघि बढ्ने बताए ।
उनले भने, ‘अब पार्टी नयाँ ढंगले अघि बढाउन सक्छौँ । आजको दिनमा नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा कहिल्यै नबिर्सने दिन हुनेछ ।’ उनले एकताले नयाँ राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनताको आधार तयार पार्ने बताए ।

प्रतिक्रिया