काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टी एकताले नेपाली राजनीतिमा तरंग पैदा गर्ने बताएका छन् ।
बुधबार भृकुटीमण्डपमा आयोजित एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दैै सहसंयोजक नेपालले आफूहरूको अग्नि परीक्षा सुरु हुने बताएका हुन् ।
उनले अब पुरानै पार्टीको रुप नभएको सन्देश जनतामा दिनुपर्ने बताए । उनले भने, ‘सिंगो नेपाली राजनीतिमा तरंग पैदा गर्नेछ । हामी नेपाली जनताको आशा, भरोसाको केन्द्र बन्ने छौँ । हाम्रो अग्नि परीक्षा सुरु हुनेछ । पुरानो पार्टीको रुप होइन । हाम्रै आ–आफ्ना पार्टीहरूको कमीकजोरीबाट मुक्त भएर, त्यसलाई सुधारेर परिवर्तनको संवाहक हो भन्ने सन्देश दिनुपर्छ ।’
उनले जेनजीलाई हातेमालोका लागि आह्वान पनि गरे । उनले भने, ‘आउनुस् हामीसँग हातेमालो गर्दै अघि बढ्नुहोस् । सुशासनको पक्षमा होस्, भ्रष्टाचारको विरुद्धको अभियानमा होस् । जनताको जीवनमा रुपान्तरणको कुरामा होस् ।’
नेपालले भारत र चीनमा कम्युनिस्ट पार्टीको नाम नियाल्दै आफूहरूले नवगठित पार्टीको नाम घोषणा गरेको बताए ।
उनले भने,‘यो नेपाली कम्युनिस्ट पार्टी, हामीले सोचेका थियौं, पार्टीको नाम के राख्ने ? चिनियाँ कम्युनिस्ट पार्टी भन्छन्, भारतीय कम्युनिस्ट पार्टी भन्छन् । भनेपछि हामीले नेपाली कम्युनिस्ट पार्टी किन नभन्ने ?’

प्रतिक्रिया