अब आर्थिक उत्पादनमा आधारित भएर पार्टी चलाउनुपर्छः वामदेव गौतम


काठमाडौं । नवगठित नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली व्यवस्था लागू गर्नुपर्ने बताएका छन् ।

बुधबार भृकुटीमण्डपमा पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गौतमले समाजवाद तत्काल कार्यान्वयन गर्न जनताले प्रत्यक्ष कार्यकारी व्यवस्था लागू गर्न माग गरेका हुन् ।

उनले सबै नेता कार्यकर्तालाई उत्पादनमा लाग्न र आफ्नो खर्च आफैँ व्यवस्था गर्नसमेत माग राखे । कुनै पनि दलले आफू चल्ने खर्चको व्यवस्था गर्न नसकेको भन्दै कम्तीमा वर्षको एक महिना उत्पादनमुखी काम गर्नुपर्ने बताएका छन् ।

उनले भने,‘आर्थिक उत्पादनमा आधारित भएर पार्टी चलाउनुपर्छ । यहाँ हामीसँग दुई हजार प्रतिनिधि छन् । १२ लाख सदस्य छन् । यी सदस्यलाई ७५३ पालिकामा बजार विस्तार गर्न सकिन्छ । जनताको बिचमा गयौँ भने ६ महिनामा २० लाख हुनेछ । चार÷पाँच वर्षमा एक करोड पार्टी सदस्य बन्नेछन् ।’

गौतमले पार्टी निर्माणका लागि बलिदान दिन तयार हुनुपर्ने बताए । उनले झोलामा बोकेर समाजवाद नआउने बताए ।

उनले भने, ‘संविधानमा लेखिएको लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद लागू गर्नुपर्छ । आज हामीले १० वटा पार्टीलाई एक ठाउँमा ल्याएका छौँ । यो ठूलो काम हो । यसले समाजवाद लागू गर्नुपर्छ । खाली किताब पढ्यो समाजवाद भन्यो हिँड्यो । झोलामा समाजवाद बोकेर आउँछ ?’