नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनबाट नौ बुँदे प्रस्ताव अनुमोदन


काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहित नौ दलबीच पार्टी एकता भएको छ । बुधबार भृकुटीमण्डपमा कार्यक्रम गरी पार्टी एकता घोषणा गरिएको हो ।

नवगठित नेपाली कम्युनिस्ट पार्टीको राष्ट्रिय सम्मेलनले एकता सम्बन्धी ९ वटा प्रस्ताव पारित गरेको छ । घोषणा सभामा पार्टी एकतामा आएका दलका सबै नेता तथा कार्यकर्ता ‘नेपाली कम्युनिस्ट पार्टी’को हुने र पार्टीको चुनाव चिह्न पाँचकुने तारा रहने प्रस्तावलाई सवै दलका नेताहरूले अनुमोदन गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद राखिएको छ । आगामी ६ महिनाभित्र एकीकृत पार्टीको एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने सहमति भएको छ ।

एकता प्रक्रियामा सहभागी भएका पार्टीका साविकका केन्द्रीय समितिलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने बताइएको छ ।

यस्ता छन् अनुमोदन गरिएका नौ बुँदा

१. एकता प्रक्रियामा सहभागीहरूले नेपाली कम्युनिस्ट पार्टी निर्माण गरिएको छ ।

२. निर्वाचन चिन्ह पाँच कुने तारा राखिने निर्णय गरिएको छ ।

३. एकतामा सहभागी सबै पार्टीका सदस्यहरू अबदेखि नेपाली कम्युनिस्ट पार्टीका सदस्य निर्णय गरेको छ ।

४. एकतामा सामेल सबै पार्टी नेताहरूसँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र सङ्गठनात्मक समायोजनकाे काम गर्ने, यस अगाडी सबै घटकका केन्द्रीय समिति समायोजन गरी केन्द्रीय समिति निर्माण गर्ने निर्णय गरेको छ ।

५. केन्द्रीय समितिलाई पूर्णता दिने र संरचनागत समायोजनसम्बन्धी अख्तियारी संयोजक र सहसंयोजक निर्वाचित भएपछि संयोजक र सहसंयोजकलाई दिने प्रस्ताव गरिएको छ ।

६. विगतमा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित अबदेखि नेपाली कम्युनिस्ट पार्टीका जनप्रतिनिधि हुनेछ ।

७. पार्टी एकतामा सामेल सबै पार्टीहरूको चल, अचल, बैङ्क सम्पत्तिको स्वामित्व र दायित्व अबदेखि नेपाली कम्युनिस्ट पार्टीको हुनेछ ।

८. नेपाली कम्युनिस्ट पार्टीको अन्तरिम विधान र घोषणा पत्र प्राप्त सुझावका आधारमा समेटेर सर्वसम्मति अनुसार पारित गरिएको छ ।

९. नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनबाट अन्तरिम विधान पारित गरिएको छ ।