काठमाडौं । नेकपा (एकीकृत समाजवादी) नेतृ रामकुमारी झाँक्रीले भयानक होला भनेर सुरु गरेको एकीकृत समाजवादी पार्टीसँगको यात्रा समाप्त भएको बताएकी छन् ।
बुधबार पत्रकार सम्मेलन गरी झाँक्रीले एकीकृत समाजवादी आजै दिउँसो विघटन हुने भएकाले पार्टीसँगको आफ्नो यात्रा टुंगिएको बताइन् । उनले भनिन्, ‘सुरुका दिनमा भयानकै अभियान चल्छ होला भन्ने विश्वासले लागेका थियौं । त्यो अभियान समाप्त भएको छ । हाम्रो अध्याय टुंगिएको छ । अहिले यो हाम्रो ‘पज’को अवस्था हो ।’
उनले माधव नेपाललाई निर्वाचन आयोगमा डोर्याएको दृष्यलाई लिएर आफूमाथि प्रश्न उठेको भन्दै त्यसलाई एउटा बिम्बको संज्ञा दिइन् ।
उनले भनिन्, ‘फोटोलाई लिएर मलाई पार्टी विभाजनका लागि मुख्य जिम्मेवार बनाइयो । त्यो एउटा बिम्ब मात्र थियो ।’
उनले लोकतन्त्रको प्रत्याभूति र शान्ति सुरक्षाका लागि राजनीतिक दलहरूलाई नै जिम्मेवार बनाउन जरुरी रहेको बताइन् ।
उनले एमाले र माओवादी मिलेर नेकपा बनेसँगै पार्टीभित्रको लोकतन्त्र समाप्त भएको तथा आज माओवादी र एकीकृत समाजवादी लगायतको एकताले पनि लोकतन्त्र कमजोर हुने बताइन् ।
उनले भनिन्, ‘नेकपा बन्दा पार्टीभित्रको लोकतान्त्रिक जीवन समाप्त पार्यौं । अहिले फेरि नेकपा एस र माओवादी एक हुँदा वाम आन्दोलन कमजोर हुन्छ । किनकी, त्यहाँ ओतलाग्ने मात्रै काम हुँदैछ, यसले पार्टी कमजोर हुन्छ।’ माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ दलबीच आजै पार्टी एकता हुँदैछ ।

प्रतिक्रिया