-रञ्जनकुमार दाहाल
नेपालका राजमार्गहरूमा गाडीको गति कम गराउन अधिकांश प्रहरी चौकीहरूले सडकमा भौतिक बार (ब्यारिकेड) राख्ने प्रचलन छ। यस्तै प्रणाली करिव २० वर्षअघि भारतमा पनि देखिन्थ्यो, तर अहिले त्यहाँ यसलाई हटाइएको छ। तर नेपालमा भने, वास्तविक सुरक्षा खतरा नभए पनि, प्रायः सबै राजमार्ग प्रहरी चौकीमा यस्ता ब्यारिकेडहरू अनिवार्य रूपमा राखिएको पाइन्छ।
व्यवहारमा, यी ब्यारिकेडहरू प्रायः गिटी–बालुवा, कृषि सामग्री तथा चौपायाँ बोकेर ल्याउने ट्रकहरू रोक्न र निरीक्षण गर्न प्रयोग हुन्छन्। जिल्ला–अन्तर यातायात र क्वारेन्टाइन सम्बन्धी नियमहरूले किसानहरूलाई थुप्रै समस्या र झञ्झट सिर्जना हुने गरेको छ। यसरी जाँचका क्रममा धेरै किसानले आर्थिक नोक्सानी र मानसिक पीडा भोगिरहेका छन्। बाख्रा र अन्य चौपायाँ बोकेर ल्याउने किसानहरूलाई यस्ता ब्यारिकेड मा पटक–पटक रोकाएर दुःख दिने गरिएको मैले धेरैपटक देखेको छु।
हामीलाई सुरक्षा निगरानी आवश्यक छ, तर यस्तो पुरानो, अव्यवहारिक र अवरोधमुखी तरीकामा होइन। यस्ता भौतिक ब्यारिकेडहरूले सुरक्षा व्यवस्थापन भन्दा बढी निषेधको अनुभूति गराउँछन्, जसले सर्वसाधारणमा असन्तोष र झन्झट मात्र बढाउँछ। यसरी सुरक्षा प्रवन्ध हुने होइन, उल्टै असहजता र असन्तुष्टि विस्तार हुने जोखिम रहन्छ। दुर्घटना को जोखिम पनि त्यतिकै रहन्छ!
यस्ता ब्यारिकेडहरूको सट्टा भेइकल ट्र्याकिङ प्रणाली (VTS), डिजिटल निगरानी प्रणाली, र CCTV प्रणाली जस्ता आधुनिक समाधानका उपायहरू प्रयोग गर्न सकिन्छ। यी प्रविधिहरूले बिना यातायात अवरुद्ध पारदर्शिता, कार्यक्षमता र विश्वास बढाउँछन् र राजमार्गमा यात्रा गर्नेलाई सजिलो हुन्छ! भारतमा सयौ किमी यात्रा गर्दा राजमार्गमा न प्रहरी देखिन्छन न कुनै चेक गरिन्छ । नेपालमा चाहिँ प्रत्येक चौकी को बाहिर आम नागरिक हिडने सडकमा ब्यारिकेड आखिर किन राखिन्छ?
त्यसैले, नेपालका राजमार्गहरूमा अनावश्यक भौतिक ब्यारिकेडहरू राख्ने कामको पुनर्विचार गरी अनिवार्य हटाउन जरुरी भएको छ।

प्रतिक्रिया