काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरुले पार्टीका नेता डा. शेखर कोइरालासँग भेट गरेका छन् । सोमबार बिहान विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा पुगेर विशेष महाधिवेशन पक्षधर नेताहरुले भेट गरेका हुन् ।
कोइरालालाई भेट्न गुरूराज घिमिरे, मनोजमणि आचार्य, देवराज चालिसे, डिल्लीराम सुवेदी लगायतका नेताहरु पुगेका थिए । भेटमा कोइरालाले ४ वर्षे समयसीमाभित्र १५औं महाधिवेशन वा यसको विकल्पमा केन्द्रीय समितिको आह्वानमा विशेष महाधिवेशन, महाधिवेशनका लागि अबिलम्ब एउटै कार्यतालिका र विशेष महाधिवेशनबाट समयसापेक्ष नीति तर्जुमासहित केन्द्रीय समितिको निर्वाचन अहिलेको एकमात्र बाटो रहेको बताएको नेता गुरुराज घिमिरले जानकारी दिए ।
भेटमा सहभागीहरुले नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि वर्तमानसम्म पार्टी र देशमा उत्पन्न हुने गरेका हरेक राजनीतिक उतारचढाव, बादविवाद, द्वन्द्व र बिग्रहमा पार्टी नेतृत्वले बडो सुझबुझ र परिपक्वता साथ उपयुुक्त निर्णय गरेर सम्पूर्ण नेपाली र पार्टीका साथीहरूलाई आश्वस्त बनाउने सामथ्र्य र कुशलता प्रदर्शन गर्न सक्नुपर्ने आग्रह गरेका थिए ।
महाधिवेशनका विषयमा विवाद हुँदा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न सकेको छैन। आइतबार बस्ने भनेर शुक्रबार स्थगित गरिएको बैठक आइतबार नबसी मंगलबारका लागि सारिएको छ । कोइरालाको संस्थापन पक्ष निर्वाचनपछि महाधिवेशन गर्न चाहन्छ भने इतरपक्ष निर्वाचनअघि महाधिवेशन गरी नयाँ नेतृत्वका साथ निर्वाचनमा जान चाहन्छ ।

प्रतिक्रिया