प्रधानमन्त्रीद्वारा कांग्रेस महामन्त्रीद्वय थापा र शर्मासँग छलफल


काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेकी छन् । प्रधानमन्त्रीले शनिबार कांग्रेस महामन्त्रीद्वयसँग छलफल गरेकी हुन् ।

छलफलका क्रममा आगामी निर्वचनबारे हालसम्म सरकार र राजनीतिक दलका तर्फबाट भएका तयारी र आउँदा दिनमा गर्नुपर्ने कामका विषयमा खुलेर कुराकानी भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले चुनावमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्ने बताएकी थिइन् । त्यसक्रममा महामन्त्रीद्वयले निर्वाचनमा जान काग्रेस प्रतिवद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्रीसँग उनीहरुले भने, ‘औपचारिक निर्णय गर्न बाँकी भएपनि नेपाली कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध छ । अब चाँडै निर्णय पनि गर्छौँ । नेकपा एमाले पनि राष्ट्रलाई निकास दिनका लागि निर्वाचनबाट भाग्न सक्दैन भन्ने नै लाग्छ । एमालेलाई मनाउन सरकारले पनि थप प्रयास गरोस्। हामी पनि प्रयास गर्छौँ ।’

उनीहरुले आफ्नो पार्टीले जेनजी युवालगायत अन्य दलहरुसँग पनि तुरुन्तै गहन संवाद गर्ने बताए । जेनजीलगायत सबै राजनीतिक दलहरुसँग गहन छलफल गरेर युवा आन्दोलनका मागलाई निर्वाचनअघि केके सम्बोधन गर्न सकिन्छ र निर्वाचनपछिको संसदको पहिलो बैठकले केके निर्णय गर्ने भन्ने विषयमा पनि अहिले नै सहमति गरेर जानुपर्ने धारणा राखेका थिए । प्रधानमन्त्री कार्कीले एमाले नेतालाई पनि छलफलका लागि बोलाएकी छन् ।

आज पार्टीको बैठक भएका कारण अर्को दिन भेट्ने एमाले नेतृत्वले बालुवाटारलाई जानकारी गराएको छ । प्रधानमन्त्री कार्कीले यसअघि पनि विभिन्न चरणमा फरकफरक दलका नेताहरुसँग छलफल गरेकी थिइन् । प्रधानमन्त्रीकै आह्वानमा सरकार, राजनीतिक दल र जेनजी युवाबीच त्रिपक्षीय संवाद पनि सौहार्दपूर्ण वातावरणमा सम्पन्न भइसकेको छ।