डा. रामकृष्ण तिमल्सेना ।
१. सुरुवात:
मानव सभ्यताको उन्नतिको मूल शक्ति ज्ञान हो। तर जब ज्ञान सत्यको बाटोबाट भट्किन्छ, त्यो शक्ति विनाशकारी पनि बन्न सक्छ। अज्ञानता (ignorance) भनेको ज्ञानको अभाव हो जसमा चेतना र खोजको सम्भावना बाँकी हुन्छ।
तर झूटो ज्ञान (false knowledge) भनेको भ्रम, अहंकार र आधा-सत्यको मिश्रण हो जसले सत्य ढाक्छ र गलत निर्णयलाई स्थायी बनाउँछ। त्यसैले, झूटो ज्ञान अज्ञानताभन्दा बढी खतरनाक हुन्छ, किनभने अज्ञानीले सत्य खोज्न सक्छ, तर झूटो ज्ञानमा रमाउनेले आफूलाई नै सत्य ठान्दछ।
२. दार्शनिक दृष्टि
(क) सोक्रेटसको दृष्टि : अज्ञान स्वीकार्नु नै ज्ञानको आरम्भ हो।उनले आफ्नो जीवनको अन्त्यसम्म ‘म जान्दछु कि म केही जान्दिन’ भन्ने सन्देश दिएका थिए।उनको दृष्टिमा, ज्ञानको पहिलो सर्त आत्म-जागरूकता हो । ये भनेको आफूलाई थाहा छैन भन्ने थाहा हुनु हो।झूटो ज्ञान भनेको यही आत्मजागरूकताको अन्त्य हो, जसले मनुष्यलाई आत्मसन्तुष्ट वनाउदै ज्ञानको ढोका बन्द बनाउँछ।
(ख) बेकनको चेतावनी : अल्पज्ञानको खतरा।
फ्रान्सिस बेकनले भनेका थिए, ‘A little knowledge is a dangerous thing.’
थोरै ज्ञान, आधा-सत्य वा सतही बुझाइले मानिसलाई ज्ञानी देखाउँछ, तर गहिरो विवेक बिनाको ज्ञानले गलत निर्णय जन्माउँछ।
नेपालमा पनि धेरै ठाउँमा नीति, धर्म, र समाजका विषयमा सतही जानकारीकै आधारमा ठूला निर्णय लिने प्रवृत्ति देखिन्छ, जसको परिणाम समाजका लागि नकारात्मक हुन्छ।
(ग) जर्ज बर्नार्ड शको विचार : झूटो ज्ञानको विनाशकारी स्वरूप। ।उनले भनेका छन् कि ‘Beware of false knowledge, it is more dangerous than ignorance.’उनी भन्छन्, अज्ञानता सुधार्न सकिन्छ, तर झूटो ज्ञानले सुधारको सम्भावनै मेटाउँछ किनभने झूटो ज्ञानले व्यक्ति र समाजलाई भ्रममा राख्छ र उनीहरूलाई आलोचनाबाट टाढा राख्छ।
(घ) पूर्वीय दृष्टिकोण: वेद र उपनिषद् अनुसार
वेदहरूले सत्य (सत्यम्) लाई ज्ञानको आत्मा मानेका छन्। ‘सत्यं वद, धर्मं चर’ भन्ने वचनले सत्य बोल्न र धर्म आचरण गर्न निर्देशन दिएको छ। झूटो ज्ञानलाई माया वा आवरण (अविद्या) भनिएको छ जसले आत्मज्ञानलाइ ढाकिदिन्छ। उपनिषद्हरूले भनेका छन् कि ‘असतोमा सद्गमय, तमसोमा ज्योतिर्गमय’ अर्थात् असत्यबाट सत्यतर्फ, अन्धकारबाट प्रकाशतर्फ लैजाऊ।यस अर्थमा, झूटो ज्ञान नै असत्य र अन्धकार हो।
३. ऐतिहासिक दृष्टि : झूटो ज्ञानका परिणामहरू
(क) मध्ययुगीन युरोपमा भ्रमको शासन:
मध्ययुगीन युरोपमा पृथ्वी ब्रह्माण्डको केन्द्र हो भन्ने विश्वासलाई पूर्ण सत्य मानिएको थियो।यो गलत ज्ञान थियो।जब ग्यालिलियो र कोपरनिकसले पृथ्वी घुम्छ भन्ने वैज्ञानिक सत्य प्रस्तुत गरे, उनीहरूलाई दण्डित गरियो।झूटो ज्ञानले विज्ञान र सत्यलाई रोक्यो । यही कारण पश्चिमी सभ्यताले पुनर्जागरण (Renaissance) द्वारा पुनः सत्य खोजको मार्ग रोज्नु पर्यो।
(ख) युद्ध र प्रचारको मनोविज्ञान
दुई विश्वयुद्धहरू झूटो ज्ञानका उत्पादन थिए।
नेताहरूले जनतालाई गलत सूचना, झूटो गौरव र बनावटी खतरा देखाएर युद्धमा होमे।यसले लाखौँ मानिसको ज्यान गयो।त्यसैले, झूटो ज्ञानको परिणाम केवल व्यक्तिगत भ्रम होइन, सामूहिक विनाश पनि हो।
४. नेपाली सन्दर्भमा झूटो ज्ञानका रूपहरू
(क) अन्धविश्वास र उपचारको भ्रम
नेपालका ग्रामीण समाजहरूमा अझै पनि धेरैजसो रोग र प्राकृतिक घटनाका कारणबारे गलत ज्ञान छ।धार्मिक अन्धविश्वास, झारफुक, वा ‘देउता रिसायो’ भन्ने धारणा विज्ञानभन्दा बलियो ठानिन्छ। यसले असंख्य मानिसलाई आधुनिक उपचारबाट टाढा राखेको छ।यो अज्ञान होइन वरु झूटो ज्ञान हो, किनभने यसले नयाँ कुरा जान्न रोक्छ।
(ख) राजनीतिक प्रचार र जनमतको भ्रम
नेपालको राजनीति पनि झूटो ज्ञानको खेल हो। नेताहरूले आधा-सत्य, मिथ्या आँकडा, र भ्रामक आदर्श प्रस्तुत गर्छन्।जनताले त्यहीलाई ‘सत्य’ ठान्छन् र बारम्बार भ्रमित हुन्छन्।यो प्रवृत्ति अज्ञानताभन्दा गम्भीर छ किनभने जनतालाई गलत ज्ञानले नै ‘सत्यको आवरण’ बनेर सिध्याउछ।
(ग) सामाजिक सञ्जाल र डिजिटल युगको मिथ्या जानकारी: फेसबुक, टिकटक, वा युट्युबमा गलत तथ्य, विकृत समाचार, र षड्यन्त्र सिद्धान्तहरू सजिलै फैलिन्छन्।यी सूचनाले सामाजिक विभाजन, नफरत, र हिंसाको बीउ रोप्छन्। जब हजारौँ मानिसले त्यो झूटो ज्ञानलाई सत्य ठान्छन्, समाज अराजक बन्छ।
(घ) धार्मिक ग्रन्थहरूको गलत व्याख्या:
हिन्दू, बौद्ध वा अन्य धर्मका शास्त्रहरूमा गहिरो दार्शनिक सत्य छ । करुणा, सत्य, र समभावको आव्ह्वान छ।तर जब ती ग्रन्थहरूलाई शब्दशः अर्थमा लिएर, विभाजनकारी रूपमा प्रयोग गरिन्छ, त्यसबेला धर्म पनि झूटो ज्ञानको उपकरण बन्छ।
धर्मले मुक्तिको बाटो देखाउँछ, तर झूटो व्याख्याले सत्यलाइ बन्दी बनाउँछ।
५. झूटो ज्ञान र नैतिक अन्धकार
झूटो ज्ञान केवल तथ्यको गल्ती होइन वरु यो नैतिक पतन पनि हो।जब मानिसले सत्यभन्दा पनि आफ्नो पक्षलाई समर्थन गर्ने जानकारी मात्र खोज्छ, त्यसबेला विवेक मर्छ।यसले सत्य खोज्ने साहस हराउँछ, र नैतिक चेतना ढाकिन्छ।त्यसैले, झूटो ज्ञानले मानिसलाई केवल भ्रमित होइन, नैतिक रूपमा पनि अन्धो बनाउँछ।
६. समाधान : सत्य खोज र आलोचनात्मक सोच
झूटो ज्ञानविरुद्धको मुख्य औषधि आलोचनात्मक सोच (critical thinking) हो।शिक्षाले केवल जानकारी नदिई विवेक पनि जगाउनुपर्छ।प्रश्न गर्ने संस्कार, तथ्य जाँच्ने बानी, र खुलेआम छलफलको वातावरणले मात्र समाजलाई झूटो ज्ञानबाट बचाउन सक्छ। नेपालमा शिक्षा प्रणाली, मिडिया,र धार्मिकशिक्षामा पनि सत्य खोज र तर्कको संस्कार पुनर्स्थापित गर्नुपर्छ।
वेदहरूले भनेझैँ ‘सत्यंएव जयते, नानृतम्।’ (सत्य नै विजयी हुन्छ, असत्य कहिल्यै होइन।)
७. छोटकरीमा भन्दा अज्ञानता एक प्रकारको खाली ठाउँ हो जहाँ सत्य राख्न सकिन्छ।तर झूटो ज्ञान एक प्रकारको भरिएको भाँडो हो जसमा सत्यको स्थान हुँदैन।त्यसैले, झूटो ज्ञान अज्ञानताभन्दा बढी खतरनाक हुन्छ, किनभने त्यो सत्यका लागि ढोका बन्द गरिदिन्छ। सत्य र असत्यबीचको भिन्नता बुझ्ने चेतना नै मानवताको पहिचान हो।ज्ञानको मूल्य तब मात्र हुन्छ, जब त्यसमा सत्य, विनम्रता र विवेक मिसिएको हुन्छ।अन्ततः सभ्य समाजको लक्ष्य केवल ज्ञानी बन्नु होइन, सत्य ज्ञानी बन्नु हो । जसले सत्य बुझ्छ, असत्यलाई हराउंछ र विवेकले जीवन चलाउँछ।अस्तु।

प्रतिक्रिया