हाइहाइ अंग्रेजी र अंग्रेजीको एउटा छन्द कविता !


डा. गोविन्द एस उपाध्याय ।

मैले महालक्ष्मीको पूजाआराधना गर्दैगर्दा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई पनि सम्झिएँ । म साहित्यकार होइन । म नेपाली भाषाको जानकारी राख्ने मानिस होइन । ममा दुई लाइन छन्दको कविता लेख्ने ल्याकत छैन । मैले लेखिरहेको यो फरफ नै शुद्ध छ कि छैन ? भन्न सक्दिन । तर लक्ष्मी प्रसाद देवकोटालाई भने सम्झिन्छु । मलाई लाग्छ, नेपाली भाषा, साहित्यले जुन गौरवपूर्ण स्थान प्राप्त गरेको छु, त्यसमा उनको पनि योगदान छ ।

देवकोटा ऐतिहासिक व्यक्ति हुन् । उनको घर, छोराछोरीहरू जीवित छन् । उनले लेखेका कृतिहरू पढ्न पाइन्छ । उनको लेखनलाई आधार बनाएर अनेकौं विद्यावारिधि गरिएका छन् । तैपनि उनी मेरा लागि मिथकसरह छन् । म जन्मिनु भन्दा लगभग १५ वर्ष अगाडी नै उनले मृत्यु वरण गर्सकेका थिए । मृत्युपछि समिक्षक, शुभचिन्तक, बिद्वान, विदुषीहरूले उनका विषयमा धेरै लेखे । ती लेखनहरूमा कति देवकोटाका बास्तविक कुरा लेखे कति देवकोटाका विषयमा आफ्नो कल्पना लेखे । कल्पना लेख्ने छुट सबैलाई छ ।

दर्शनशास्त्रलाई निकै रुखो विषय मानिन्छ । लक्ष्मीप्रसाद देवकोटाले नेपालीमा थोरै तर अंग्रेजीमा केही निवन्धमा दर्शनशास्त्रलाई छोएका छन् । उनले दर्शनशास्त्रको रुखो विषयलाई रसिलो बनाएका छन् । पछिल्लोपटक प्रकाशित भएको उनको अंग्रेजी कृति ‘बोक्सी कला’मा केही दार्शनिक निवन्धहरू समेटिएका छन् । त्यो पढ्नेले देवकोटाले दर्शनशास्त्रलाई कसरी ‘रसिलो’ बनाएका छन् बुझ्न सकिन्छ । दर्शनको विद्यार्थी भएको नाताले देवकोटाको यस्तो प्रयासलाई सम्मान गर्छु ।

देवकोटाको समय र आजको समयमा निकै उलटफेर भएको छ । आजको समयमा देवकोटा जन्मेको भए कस्ता निवन्धहरू, कस्ता महाकाव्यहरू र विचारहरू लेख्थे ? कम्प्युटर, मोबाइल, रङ्गीन टेलिभिजन र एआई यी सबै थोक देवकोटा युगमा ‘कल्पनाको दयाराबाट बाहिर’का विषय थिए । यी विषयलाई देवकोटाले चिनेका थिएनन् भने डिजिटल समयका सम्वाहक अंग्रेजी पुस्ताले देवकोटाका महाकाव्यहरू पनि देवकोटाको युगमा फर्किएजस्तो लाग्छ । यदि देवकोटाले अंग्रेजी भाषामा ‘छन्द–कविता’ लेखेको भए अंग्रेजी स्कूलहरूले देवकोटा बुझाउंथे होला । हाइहाइ अंग्रेजी लेखेर देवकोटाले डिजिटल पुस्तावारे भविष्यवाणी गरेका थिए कि ?

म सोच्दैछु, देवकोटाले अंग्रेजी भाषामा ‘छन्द’ कविता लेखिदिएको भए आजको डिजिटल पुस्ताले ती कविताहरू पढ्थे ? उनले गौरवपूर्ण मानेको नेपाली भाषा र तिनका विज्ञहरूले आजको मितिसम्म ‘नेपाली भाषा कस्तो हुनुपर्छ’ भन्ने विवाद गर्दैछन् । ‘नेपाली बोल्न र लेख्न नसक्दा गौरव गर्ने’ पुस्ता निर्माण गर्न देशनै लागि परेको देशमा नेपाली भाषाको मानक खोज्नु पनि अचम्म नै मान्नुपर्छ । नेपाली भाषाको मानक खोज्नेहरूका अधिकांश सन्तानहरूका लागि मानकीय नेपालीको कुनै प्रयोजन नै छैन ।
नेपाली भाषाको गौरव बढाउनु पर्छ भन्दै हाइहाई अंग्रेजी लेखेका देवकोटाको इच्छा नेपालीले कसरी पूरा गरेका छौँ, सबैलाई थाहा छ ! यसै सेरोफेरीमा मैले AI  लाई ‘अंग्रेजी भाषा प्रयोग गरेर अनुष्ठुप छन्दमा देवकोटा वारे एउटा श्लोक लेख भन्ने आदेश दिएँ । त्यो यहाँ राखेको छु । ठीकठीक लेखिएको छ कि छैन मानकविज्ञले बुझौंः

O Devkota, poet divine,
Thy words in hearts forever shine;
From pain thou drew the song of soul,
To make the broken spirit whole.