काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको प्रदर्शन र त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति भोग्नु परेको बताएका छन् ।
शुक्रबार ७० औँ प्रहरी दिवसको अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा महानिरीक्षक अर्यालले, ‘गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको युवा तथा विद्यार्थीको प्रदर्शन त्यसपश्चातका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको छ । उक्त प्रदर्शनको क्रममा नेपाल प्रहरीका सदस्य र ज्यान गुमाउनुभएका अन्य दिवङ्गत आत्माहरूको चीर शान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।’
उनले जेनजीले उठाएका कुरा आमनागरिकको आवाज भएको बताए । उनले भने, जेनजी भाइबहिनीहरूको भ्रष्टाचाररहित समाज, सुशासन, स्थायित्व, पारदर्शिता तथा सहज सार्वजनिक सेवा प्रवाह जस्ता मागहरू कुनै एक समूहका सदस्यहरूको मात्र नभई आमनागरिकले समेत चाहेको कुरा हो ।’
उनले नेपाल प्रहरी नेपालको संविधान प्रचलित ऐन कानुन र मानव अधिकारका अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको आफ्नो कर्तव्य र उत्तरदायित्व प्रति सांगठनिक रूपमा पूर्णत निष्ठावान रहँदै आएको बताए ।
हालको राजनीतिक परिवर्तनको परिस्थिति र आगामी दिनहरूमा समेत उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र असहज परिस्थितिहरूको सामना गर्दै आमनागरिकलाई शान्ति सुरक्षा र अमन चयनको प्रत्याभूति दिलाई नागरिक भरोसाको केन्द्र बिन्दुमा रहन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम तथा प्रतिबद्ध रहेको बताए ।
महानिरीक्षक खापुङ्गले राज्यले निर्देशित गरेका नीति तथा आफ्नो आधारभूत दायित्वबाट नेपाल प्रहरी कहिले विमुख नभएको र विमुख हुने कल्पना समेत गर्न नसकिने उल्लेख गर्दै सांगठनिक सुदृढीकरण, आधुनिकीकरण र स्रोत साधनको उपलब्धता प्रहरीको मनोबल र सशक्तिकरणसँग जोडिएको हुँदा यी विषयहरू नेपाल सरकार र तालुक गृह मन्त्रालयबाट उच्च प्राथमिकता साथ सम्बोधन हुने विश्वास व्यक्त गरे ।
नेपाल प्रहरीलाई आजको स्थितिसम्म आइपुग्न हाम्रा सत् प्रयासहरूमा प्रत्यक्ष वा परोक्ष रूपबाट सहयोग पुर्याउने अग्रज प्रहरी कर्मचारीहरू, विभिन्न संघ संस्थाहरू तथा सर्वसाधारण नागरिकहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत निरन्तर साथ र सहयोगको अपेक्षा रहेको उनले बताए ।

प्रतिक्रिया