हस्तमैथुनः विश्वास र व्यवहार


-डा. गोविन्द एस उपाध्याय ।

हाम्रो समाजमा सबै प्रश्नको उत्तर फर्काउन सजिलो छैन । केही प्रश्नहरूको सामाजिक र सांस्कृतिक कारणहरूले प्रष्टसंग उत्तर दिन गाह्रो पर्छ । तर उत्तर खोज्ने व्यक्तिले आफ्नो मनलाई बडो दह्रो बनाएर, सामाजिक र सांस्कृतिक मूल्यहरूहरू भन्दा आफ्नो स्वास्थ्यलाई मौलोमा राखेर प्रश्न सोध्ने आँट गरेको हुन्छ । उसले सोध्न लागेको प्रश्न सोध्नका लागि उसले धेरै लामो मानसिक सङ्घर्ष पार गरेको हुन्छ । आफ्नो व्यक्तिगत गोपनीयता भंग गर्दै प्रश्न सोध्ने र त्यसको उचित समाधान प्राप्त गर्ने हिम्मत गरेको हुन्छ । उत्तरदाताको पनि दायित्व हुन्छ कि सम्बन्धित प्रश्नकर्ताको वास्तविक परिचय सुरक्षित राखोस् ।

नेपाली समाजमा यस्ता धेरै प्रश्नहरू अनुत्तरित रहन्छन् जुन चाहेर पनि सोध्न सकिएका हुँदैनन् । सामाजिक तथा सांस्कृतिक विश्वासले बाँधिएका कारण धेरैले प्रश्न सोध्ने आँट नै गरिरहेका हुँदैनन् । प्रश्नले मन पिरोलिंदै जाँदा यदाकदा मननै बेलुन फुटेझै फुट्छ । आत्महत्या यसको अन्तिम परिणाम अवश्य हो तर सबै प्रश्नहरू फुट्दैनन् अपितु गुम्सिएर जीवनका लागि अभिशाप बन्छन् । अनुत्तरित प्रश्नहरूले सबैभन्दा बढी जन्माउने नै अन्धविश्वास र आत्महिनता वा निराशा हुन्छ । त्यसैले प्रश्न जस्तोसुकै होः गरिनु पर्छ र त्यसको उत्तर प्रत गर्ने हक प्रश्नकर्तालाई हुन्छ । खासगरी, यौनजन्य क्रियाकलाप सम्बन्धि प्रश्नहरूले धेरैलाई बन्धक बनाएको हुन्छ । नेपाली समाजको यो सत्य धेरै लुकाउने गरिन्छ भने अनावश्यक खोल्नुको पनि कुनै औचित्य छैन ।

एकजना १८ वर्षका किशोरले बडो साहस गरेर मसँग सोधे ‘मैले केही वर्षदेखि हस्तमैथुन (masturbation) गरिरहेको छु । मैले आफुलाई धेरै पटक रोक्न चाहें तर रोक्न सकिरहेको छैन । नेटमा हेर्दा अनेकौं सूचनाहरू छन्ः जसमा कसैले राम्रो र केहीले ज्यादै नराम्रो काम भनेर बोलेका र लेखेका छन् । मभित्र निराशा बढ्दो छ । म हस्तमैथुन गर्न चाहन्न तर आफूलाई रोक्न सक्दिन ? मैले अव के गर्नुपर्छ ?

माथिल्लो प्रश्न पढ्दा कतिपय पाठकहरूले प्रश्ननै नक्कली भएको, वा लाइक वा व्यूजहरू बढाउन मन गढन्ते प्रश्न खडा गरिएको, नचाहिने कुराको उत्तर दिने प्रयत्न गरिएको, हस्तमैथुन नै पश्चिमा छाडा संस्कृतिको उपज भएकोले उत्तर नै दिनु नपर्ने विषय भएको वहस गर्ने छन् । तर एउटा किशोर जुन सामाजिक र सांस्कृतिक कारणले प्रश्न गर्न सकिरहेको छैन र सामाजिक ट्यावुहरूका कारण अपार मानसिक तथा शारीरिक क्षति भोग्दै छ, उसप्रति थोरैको मात्र मायालुपन रहने छ । अंग्रेजीमा मास्टरबिसन भनिने हस्तमैथुन (हातले लिंग वा यौनी चलाएर यौनजन्य क्रियाकलाप गर्ने बानी) मूलतः उमेरजन्य यौनजिज्ञासाका कारण अनायास नै बन्ने घटना हो जुन पछि एउटा आदतझैं बन्छ ।

हस्तमैथुन केवल किशोर–किशोरीहरूमा मात्र सीमित हुँदैन । उमेर पुगेका व्यक्तिहरूले पनि यसको उपयोग गर्छन् । यदि आधुनिक मनोबैज्ञानिकहरूको राय र खोजमा विश्वास गर्ने हो भने विश्वको हरेक स्वास्थ्य मान्छे जीवनको एउटा मोडमा हस्तमैथुनबाट गुज्रिएको हुन्छ । कसैले धेरै पटक, केहीले एकदुईपटकमात्र यसको अनुभव गरेका हुन्छन् । केही व्यक्तिहरूले नितान्त निजीतौरमा हस्तमैथुनको अनुभव गरेका हुन्छन् भने केहीले साथी, आफन्त वा चलचित्रमा हेरेर हस्तमैथुनतिर लागेका हुन्छन् । समान्यतया धेरैजसो युवा–युवतिहरूमा हस्तमैथुन गर्नु एउटा सामान्य व्यवहार हो ।

जीव र मनोबैज्ञानिक दृष्टिकोणले विश्वभरीका मान्छे र वादरजस्ता केही जीवहरूमा हस्तमैथुन स्वाभाविक व्यवहार भएको मानिन्छ । मूलतः मान्छे र अन्य केही पशुवर्गले रमाइलोका लागि हस्तमैथुन गर्छन् । हस्तमैथुन गर्नाले डोपामाइन र ओक्सीटोसीन संचारित हुन्छ र रमाईलो अनुभव हुन्छ । यही अनुभूतिका लागि वारम्वार हस्तमैथुन गर्छन् । केही मनोबैज्ञानिकहरूले मानसिक तनावबाट मुक्तिका लागि पनि हस्तमैथुन गर्ने अनुसन्धानबाट पत्तो लगाएका छन् भने हर्मोनहरूको सन्तुलनका लागि महिलाले हस्तमैथुन गर्छन् भनेका छन् ।

पश्चिमा संस्कृतिमा हस्तमैथुनलाई मान्छेको प्राकृतिक क्रियाका रूपमा लिने गर्छन् र यसले कुनै पनि प्रकारको हानिनोक्सानी नहुने विश्वास गर्छन् । तर हिन्दु, जैन तथा बौद्ध संस्कृतिमा हस्तमैथुनलाई ‘समग्र स्वास्थ्य’का लागि हानिकारक ठानिएको छ । यी संस्कृतिले ‘वीर्य’लाई ओजका रूपमा बुझ्ने र बुझाउने गर्छन् र ब्रह्मचर्यलाई महत्व दिन्छन् । २५ वर्षको उमेर नपुग्दासम्म “वीर्य“ रक्षा गर्न अभिप्रेरित गरिन्छ र वीर्यलाई बल, तेज र क्षमताको रूपमा संग्रह गर्न प्रेरित गरिन्छ । जम्नदेखि २५ वर्षको उमेरसम्म हरेक पुरुष र महिलाले अनिवार्यरूपमा ब्रह्मचर्य पालन गर्नु पर्ने व्यवस्था गरिएको छ ।

खासगरी हिन्दू, जैन तथा बौद्ध संस्कृतिमा ब्रह्मचर्यलाई (बीर्यरक्षा) महत्वपूर्ण ठानिएको हुँदा यी संस्कृतिमा हुर्केका युवा–युवतिहरूले ‘हस्तमैथुन’ एजप्रकारको कमसल कर्म वा पापकर्मका रूपमा बुझ्ने गर्छन् । परिणामतः उनीहरूमा हस्तमैथुनपछि मानसिक रूपमा गलत गरेको र शारीरिक रूपमा निकै कमजोर भएको अनुभव गर्दै हीनताबोधले ग्रसित भएको भेटिन्छ । हस्तमैथुन पनि यौनजन्य क्रियाकलापको एउटा अंश भएको नाताले आत्मग्लानी र हीनताबोधले सम्बन्धित युवायुवतिमा नराम्रो मानसिक प्रभाव पर्छ । सामान्यतया, हरेक युवा–युवतिले हस्तमैथुनपछि आत्मग्लानीबाट गुज्रिने गर्छन् । एकातिर हस्तमैथुनले तत्कालीन अवस्थामा “रमाइलो“ हुन्छ भने त्यसपछि ग्लानिबोध हुन्छ । मैले धेरैयुवा–युवतीहरु भेटेको छु, जसले हस्तमैथुनबाट आफुलाई रोक्न सक्दैनन् तर त्यसपछि निकै मानसिक आत्मग्लानी गर्छन् ।

यहाँ एउटा तत्थ्य प्रत्येक ‘हस्तमैथुन’ गर्नेले बुझ्नुपर्छ कि हाम्रो मनोविज्ञान र व्यबहार दूवै हामी हुर्केको संस्कृतिले निर्धारित गर्छ । हिन्दू, जैन तथा बौद्ध संस्कृतिमा हुर्किने युवायुवतिहरूले हस्तमैथुनबाट जोगिनु उचित हुन्छ र मानसिक, शारीरिक तथा संज्ञानात्मक रूपमा पनि उचित नै हुन्छ तर यदि हस्तमैथुन गर्दैमा ‘पाप लाग्ने, शारीरिक दोष उत्पन्न भएर वैवाहिक जीवन असफल हुनेजस्ता अन्धविश्वास’मा विश्वास गर्नु हुँदैन । हस्तमैथुन गर्दैमा पतिपत्नीका विचमा हुने शारीरिक सम्बन्धमा कुनै नकारात्मक प्रभाव पर्ने सम्भावना हुँदैन । तर हस्तमैथुनको बानी OCD मा रुपान्तरित भैसकेको छ भने सम्बन्धित व्यक्तिले मनोवैज्ञानिक र मनोचिकित्सकबाट सेवा प्राप्त गर्नु पर्ने हुनसक्छ । हस्तमैथुन गर्दैमा वैवाहिक जीवनमा नराम्रो प्रभावपर्छ भन्ने विश्वास गर्नु उचित हुँदैन ।

यहाँ प्रश्नकर्ताले के बुझ्नुपर्छ भने हस्तमैथुन आफैंमा एउटा प्राकृतिक क्रिया हो र संसारका धेरैजसो मान्छेहरूले यसको अनुभव गरेका हुन्छन् । सामान्यतया केटाहरू १४ वर्षको अवस्थापछि र केटीहरू १५ वर्षको अवस्थापछि हस्तमैथुनको अनुभव गर्छन् । सम्बधित व्यक्तिको संस्कृति, विश्वास तथा स्याहारसुसारका आधारमा उमेरमा फरक पर्न सक्छ । केहीले जीवनभरी पनि हस्तमैथुनको अनुभव नगरेका हुन सक्छन् । हस्तमैथुन गर्ने र नगर्ने दुवै मानसिक रोगी हुँदैनन् । हस्तमैथुन गर्नेले कुनै पनि प्रकारको आत्मग्लानी वा डर मान्नु पर्दैन । फेरि पनि, आफ्नो धर्म, संस्कृति तथा परम्पराका मान्यताहरूप्रति सम्मान गर्दै ब्रह्मचर्य पालन गर्नु पनि राम्रै हुन्छ । हिन्दु, जैन तथा बौद्ध युवायुवतिहरूले दमनको बाटो होइन संयमको अभ्यास गर्नु उचित हुन्छ । यसले आत्मविश्वास र जीवनप्रति सकारात्मक दृष्टिकोणको विकास हुन्छ ।

अन्त्यमा, आफ्नो धर्म, संस्कृति तथा परम्पराअनुसार उमेरअनुकुलको व्यवहार गर्नुपर्छ । हस्तमैथुन कुनै पाप होइन र यसले भविष्यको वैवाहिक जीवनलाई नकारात्मक प्रभाव पार्दैन । यदि हस्तमैथुन अनिवार्य व्यवहार (compulsive habits) का रूपमा विकसित भैसकेको छ भने मनोचिकित्सक तथा मनोवैज्ञानिक सेवाहरू प्राप्त गर्नु राम्रो हुन्छ । अनिवार्य व्यवहार विकसित भैसकेपछि सम्बन्धित व्यक्तिले हस्तमैथुनबाट आफूलाई नियन्त्रण गर्न सक्दैन र धेरैधेरै पटक हस्तमैथुनको व्यवहार गर्दा ऊ मानसिक तथा शारीरिक रूपमा क्षतिग्रस्त हुन्छ । त्सैले हस्तमैथुन भन्दा आत्मसंयम धेरै महत्वपूर्ण र सकारात्मक वानी हुन्छ ।