विपिनको मृत्यु भएको पुष्टि, हमासले शव इजरायललाई बुझाउने


काठमाडौं । हमासले आफ्नो नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई बुझाउने बताएको छ । यसअघि उनको अवस्था अज्ञात रहेको बताइएको थियो ।

इजरायलसँग युद्धविराम भएपछि हमासले आफ्नो नियन्त्रणमा रहेका २० जीवित बन्धकलाई सोमबार मुक्त गरिसकेको छ । सोमबार अबेर जोशी सहित चार जना बन्धकको शव हस्तान्तरण गर्न लागिएको हमासको सैन्य एकाइले जनाएको छ ।

दुई वर्षअघि हमासले इजरायलबाट बन्धक बनाएर लगेका नेपाली विद्यार्थी विपिन जोशी ‘जीवित रहेको प्रमाण फेला नपरेको’ औपचारिक जानकारी यसअघि इजरायली सेनाले परिवार र इजरायलस्थित नेपाली दूतावासलाई गराएको राजदूत धनप्रसाद पण्डितले बताएका थिए ।

हमासको नियन्त्रणमा बाँकी रहेका ४८ जनामध्ये २० जीवित र २६ मृत बन्धकको नाम हमासले इजरायली पक्षलाई उपलब्ध गराएको थियो। तर विपिन जोशीको नाम जीवित वा मृत दुवै वर्गका बन्धकको सूचीमा थिएन।