रौतहटको गौरमा पानीमा डुबेर तीन जनाको मृत्यु


रौतहट । रौतहटको गौर नगरपालिका–१ कानुपट्टीस्थित भित्री सडकखण्डमा पानी जमेको खाल्डोमा परी बेपत्ता भएका तीन जनाको शव भेटिएको छ ।

सोही जिल्लाको राजदेवी नगरपालिका–८ स्थित लक्ष्मीपुरबाट घाँस काट्न गौरतर्फ आउँदै गरेका सोही ठाउँ बस्ने १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीइा राधनी कुमारी यादव र १५ वर्षीया मौसमी कुमारी बैठा बाढीको पानी जमेको खाल्डोमा परी वेपत्ता भएका थिए ।

घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा गुल्म गौरबाट खटिएको रबरबोर्टसहितको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय बासिन्दाहरुको सहयोगमा उनीहरुको शव खाल्डोबाट बाहिर निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

उनीहरुसँगै घाँस काट्न गएका सोही ठाउँ बस्ने १५ वर्षीया मुस्कान कुमारी राम, १३ वर्षीया मुस्कान कुमारी बैठा, १० वर्षीया चन्द्रमुखी राम र १५ वर्षीया सुनिता कुमारी बैठालाई भने स्थानीय बासिन्दाले सकुशल उद्धार गरेका छन् ।