-डा. सूर्यराज आचार्य
कुनै समय थियो, जब मानिसको बास जंगलमा हुन्थ्यो। जीवनको सम्पूर्ण ऊर्जा दिनभर शिकार खोज्न, जीवित रहन, प्राणीहरूको आक्रमणबाट जोगिन र अर्को समूहका मानिससँग हुने द्वन्द्वबाट बच्न खर्च हुन्थ्यो। कतिपय मानिसहरूले आफ्नै जातिका अन्य मानिसलाई मारेर मासु खाने चलन पनि पालना गर्थे। जीवन धेरै कठोर र हिंसात्मक थियो । तर मानिस अन्य प्राणीभन्दा फरक थियो । उसमा उच्च दिमागी क्षमता थियो, जसको प्रयोग गर्न थाल्दा जीवनको स्वरूप नै बदलिन थाल्यो। ढुङ्गा पनि हतियार बने। मानिसले आफैं खेतीपाती गर्न थाल्यो, जनावर पाले, र जीवनका आधारभूत आवश्यकता पूर्ति गर्ने सरल उपाय खोज्यो। यसरी समय बचत भयो, र बुद्धि ख्याल गर्न अवसर प्राप्त भयो। पढाइ–लेखाइ सुरु भयो, विचार र सिर्जनात्मकता विकास भयो। प्रविधिको प्रयोगले आवश्यकीय वस्तु उत्पादन गर्न मद्दत गर्यो। यही प्रक्रिया क्रमशः मानव सभ्यतालाई विकास र प्रगतिमा नयाँ उचाइमा पुर्यायो ।
आजको दिनमा, केवल ५% जनसंख्या कृषिमा संलग्न हुँदा पनि बाँकी ९५% जनतालाई खान पुग्ने उत्पादन गर्न सक्ने प्रविधि विकास भइसकेको छ। अत्याधुनिक प्रविधि र विज्ञानले जीवन अत्यन्त सहज बनाएको छ। यसक्रममा मानव समाजमा केही मानवीय मूल्य–मान्यता पनि स्थापित भए, जसले सहकार्य, परस्पर सहयोग र सामाजिक सहिष्णुतामा योगदान पुर्यायो। ‘बसुधैव कुटुम्बकम्’ भन्ने भावना अनुसार संसारका सबै मानिस सुखी र आनन्दमा बाँच्न सक्ने वातावरण सिर्जना गर्न प्रविधि सक्षम छ।
तर विडम्बना के छ भने, यति विकास र सुविधा हुँदाहुँदै पनि मानव समाजमा हिंसा, द्वन्द्व र अस्थिरता निरन्तर बढ्दै गएको छ। विश्वका अधिकांश मुलुकमा राजनीतिक अस्थिरता र शक्ति संघर्ष बढ्दो छ। शक्तिशालीहरूले आफ्नो प्रभुत्व बढाउन आँखा चिम्लेर, सहिष्णुता र मानव मूल्यलाई बेवास्ता गर्दै कदम चालिरहेका छन्। आणविक युद्ध, पर्यावरणीय विनाश र सामाजिक असमानताको खतरा मडारिँदैछ।
यस परिस्थितिले प्रश्न उठाउँछः किन यति विकास हुँदाहुँदै पनि मानव समाज स्थिर र शान्तिपूर्ण हुन सकिरहेको छैन? यसको जवाफ इतिहास र सभ्यताको पाठमा छ। जब मानिसले जीवन सजिलो बनाउन मात्र केन्द्रित भयो र भौतिक आवश्यकता पूर्ति गर्ने सिलसिलामा एकोहोरो लाग्यो, तब मानव समाजले आधारभूत मानवीय मूल्य, सहिष्णुता र नैतिकताको पालनमा कमजोरी देखायो।
मानव सभ्यताको इतिहासले देखाउँछ कि वास्तविक विकास केवल भौतिक उन्नति र प्रविधि विकासमा सीमित छैन। समाजलाई स्थायी शान्ति, समृद्धि र सामूहिक कल्याणको मार्गमा लैजानु भनेको बुद्धि, नैतिकता, सहिष्णुता, न्याय र समानताको विकाससँगै जान्छ। ज्ञान र प्रविधिले समाजलाई केवल भौतिक दृष्टिले सम्पन्न बनाउन सक्छ, तर विवेक, नैतिकता र मानवीय मूल्यको अभाव भएको समाज अस्थिर र संकटग्रस्त बन्न बाध्य हुन्छ।
नेपालको सन्दर्भमा हेर्ने हो भने, भौतिक विकासको हिसाबले हामी पछि परेका थियौं। पछिल्लो चरणमा राज्य प्रणालीमा विसंगति बढ्दै थियो। तर सामाजिक मूल्य–मान्यता र सहिष्णुताको हिसाबले नेपाली समाजको आधार बलियो रहेको विश्वास थियो। तर हालैका अप्रिय घटनाले त्यो विश्वासको जग नै हल्लाई दिएको छ। आशा गरौं, हाम्रो सामूहिक विवेकले समाज, राज्य र राष्ट्रलाई पुनः स्थिरता र समृद्धितर्फ फर्काउने छ।

प्रतिक्रिया