-डा. युवराज संग्रौला ।
शिक्षक साथीहरु देश बर्बादभयो भने हामीले पढाउने कलेज र स्कुल बाँची रहलान् ? आएन बेला हामीले हस्तक्षेप गर्ने ?
बाँसघारीमा कागहरु एक आपसमा टोकाटोक गर्छन् । उधुम गर्छन् । उनीहरुलाई कसैले कसैलाई हराउनु र लखेट्नु छ । तर उनीहरु हरेकले हरेकलाई टोक्नु छ, र मार्नुछ । तर, तल फेदमा कसैले पराल हालेर आगो लगाइरहेको देख्दैन ।
एउटा कुरा थाहा छ ? यी कागलाई आफ्नो सुरक्षा र गुँडको मात्र लोभ छ । बाँसघारीको माया कसैलाई छैन । किनकी कागलाई बाँसघारी नासिदा आफ्नो गुँडपनि नासिन्छ भन्ने थाहै छैन । के हामी कागभन्दा पृथक छौं ? छैंनौ । कसरी ?
१. स्कुलका बच्चाबच्चीलाई कसैले गोली हान्न सक्छ ? सक्छ, र कसले ? त्यो व्यक्तिले वा समूहले जो शासनसत्ताको लागि राजनीति गर्छ नागरिकको समृद्धिका लागि होइन । के देशमा भ्रष्टाचार भएको थिएन ? थियो, अति भएको थियो । गठबन्धन बनाइ बनाइ भ्रष्टाचार गरेको थियो ? माओवादी र समाजवादीले कांग्रेससँग गठबन्धन बनाएर चुनाव लेडेको हो ? हो, अनि एमालेसँग गठबन्धन किन गरेको हो त । एमालेसँग गठबन्धन गरेको तोडेर किन फेरि कांग्रेससँग गठबन्धन गरेको त ? अनि कांग्रेसले माओवादी छोडेर किन एमालेसँग गठबन्धन गरेको त ? जवाफ दिनुहोस् । किनभने ‘तपाईँहरुले सिद्धान्त छोडेर अवसरवाद बोक्नु भएको थियो । तपाईंहरुले गरीब उल्लु बनाएर घिउमा पौडी खेल्नु भयो । अब जनता यी नेतालाइ सिहंदरबारमा होइन, छिमेकमा पनि देख्न चाहँदैनन् । तैपनि यी दलप्रति रिस छैन, तर यस्ता नेताको जयजयकार गर्ने र अझपनि नेतृत्व नफेर्ने नालायकहरुसँग रिस उठ्छ।
२. बौद्धिकहरु, खासगरि प्राध्यापक र शिक्षकहरु हामीले किन हिजो दोग्ला, लोभकाऔंसा, विदेशीका स्वार्थमा लागेका, राज्यको घन सुगुरले खोले खाएझैं खाने, शिक्षाको विकासमा मान सम्मान विनापनि साझेदारी गर्नेलाई लखेट्ने कानुन बनाउने र विदेशी स्कुल र केलेज ल्याएर देशलाई उपनिवेश बनाउनेको पोषण गर्नेलाई पुरस्कृत गर्नेलाई पुजा गर्दा हामी किन बोलेनौं । त्यसैले मलाइ म आफू प्रती नै रिस उठछ, टाउको भुइँमा ठोकीठोकी माफ माग्न मन लाग्छ, किनकी मेरो सास यो देशको स्वतन्त्रतासँग गाँसिएको छ।
३. भ्रष्टाचारको विरोध गर्नुथियो, दलतन्त्रका विरुद्ध लड्नु थियो । शासकीय स्वरुप बदल्नु थियो । तर हाम्रा देशका हाम्रा सरकारी घरमा किन आगो लगाइयो ? मलाई कुशासनको बिरोध गर्ने चेनता मन पर्छ तर मेरो देश जलाउने कसैको गोटी बन्नेसँग रिस उठ्छ।
युवाले आवाज उठाए, तर देश बनाउने दिमाग र हात त ‘शिक्षकहरु’ हुन् । हाम्रा दिमाग र हात विना कोही डाक्टर, इन्जिनियर, वकिल, प्रशासक बन्दैन, हाम्रो दिमाग र हात बिना त ‘केवल नेपालको नेता बन्दोरहेछ ।’ त्यस्ता मानिसले देश बनाउँछ भनेर हामीले कसरी विश्वास गर्यौं ? अतः यो महान देशको यो हालत हुन हाम्रो पनि दोष छ । आज देशमा “फोहोर भान्सामा मुसा पसेझैं हाम्रो देश भत्काउने शक्ति पस्ने खतरा छ, हाम्रा ससना छोराछोरीको भविष्य सिंहदरबार जलेझैं जल्ला कि भन्ने डर छ । यो माटोमा हामी अरु कसैका ‘जनता वा सरणार्थी बन्नुपर्ने हो कि भन्ने भय छ, हाम्रो देशको सार्भभौमसत्ताको कसैले घाँटी थिचीदिने हो कि भन्ने त्रास छ।’ त्यसो भए हामी शिक्षकको भूमिका छैन र ? हामी कसैका झोले भएर मात्र देश बाँच्छ त ?
शिक्षा क्षेत्रले देशको दुर्दशा हेर्न सक्दैन । हामीसँग नेता बनाउने र नेता बन्ने सामथ्र्य छ, विश्वास गरौं । शिक्षाले नै दुनियाँ बदल्ने हो । आजसम्म शिक्षा र शिक्षकमाथिको अपमानले देश यो दुर्दशामा आइपुगेको हो । चिन्तन गर्ने र ज्ञानको निर्माण गर्ने भोको छ तर ‘तर पैसा गन्ने चाहिँ वर्षको दुई करोड तलब खान्छ । कुर्सीमा बसेर आदेश दिने राज्यका पैसामा मोज गर्छ, तर ज्ञान निर्माण गर्ने’ अपमानित छ। किन भयो यो दशा ? किनकी राज्यले हाम्रो भूमिका खोजेको थियो तर हामीले ख्यालै गरेनौं । देश जेनजी, जेनवाई वा अरु के के बनाउँदैन । देश दिमागले बनाउँछ । त्यो दिमाग तपाईं हामी मास्टरसँग छ । साथीहरु ‘हामी उफ्रिएर लंका पुग्न सक्छौं, के देश जिम्मा लिन अब पनि तयार हुनुपर्दैन र ?’ म मेरो देश मरेको हेर्न सक्दिन । हामी देशभक्तिको कुरा गर्छौं । त्यो देशभक्ति कहाँ जाग्छ ? हाम्रो चेतनामा । शिक्षकको दिमाग र कक्षाकोठामा । अब देशको जिम्मा शिक्षकहरुले लिनुपर्छ । देश सुरक्षित गरौं ।

प्रतिक्रिया