केपी ओली सुशीला कार्कीको डरले भाग्ने मान्छे होइनः अध्यक्ष ओली


भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोक्का गर्ने भनेर सरकारले तामासा गरेको बताएका छन् ।

बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सुशीला कार्कीसँग डराएर केपी ओली नभाग्ने भएकाले त्यस्तो तामासा नगर्न आग्रह गरेका हुन् ।

उनले रातिराति मिटिङ गरेर आफूसहित रमेश लेखकलाई पक्राउ गर्ने भन्दै सडकमा समेत सरकार आफैँ तमासा गरिरहेको बताए ।

उनले भने,’पासपोर्ट रोक्का रे । डाँडो काट्न नहुने हो रे । सुशीला कार्की डरको डरले केपी ओली भाग्छ ? हुन त म अहिलेका गृहमन्त्रीलाई चिन्दिन । तर म गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन र नचम्किन सुझाव दिन चाहन्छु । राजनीति चलाउने देश चलाउने ख्याल ठट्टा होइन ।’

उनले अहिले सरकार भए पनि बलमिच्याइँले बनेको सरकार भएको बताए । उनले भने, ‘अहिले देशको परिस्थिति असाधारण, असमान्य रहेको छ । किनभने देशमा सरकार छ। संविधान अनुसार बनेको छैन। बलमिच्याइँले बनेको छ।’

उनले राजनीतिलाई ख्यालठट्टा नठान्न आग्रह गरे । अध्यक्ष ओलीले जनेजी नामका बालबालिका अगाडि सारेर पेट्रोल फ्याँक्ने र आगो लगाउनेहरूलाई यो सरकारले कारबाही नगरे पनि क्षम्य हुन नसक्ने बताए ।

उनले भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई नक्कलीको संज्ञा दिए । उनले भने, ‘सम्पत्ति छानबिन गर्ने रे, एक पटक होइन दश पटक गर्नुस् । मन्त्रीज्यूहरु आफ्नै सम्पत्ति छानबिन गर्नुहुन्छ ? गजबको ड्रामा गरिएको छ । यस्ता नाटक एमालेलाई मन्जुर र स्वीकार छैन।’ उनले जाँचबुझ आयोगको प्रतिवेदन नमान्ने समेत बताए ।