विभिन्न अपराधमा संलग्न सात नेपाली अमेरिकाबाट डिपोर्ट


काठमाडौं । अमेरिकामा विभिन्न अपराधमा संलग्न सात नेपालीलाई अमेरिकाले देश निकाला गरेको छ । जुलाइसम्म यौन आक्रमण र शारीरिक दुव्र्यवहार, डकैती, हतियारको प्रयोग गरी आक्रमण, नाबालिगलाई अश्लील उद्देश्यका लागि च्याटमार्फत प्रलोभन, मादक पदार्थ सेवन गरेर गाडी चलाएको लगायतका अभियोगमा दोषी ठहर भएका सात नेपालीलाई अमेरिकाले देश निकाला गरेको अमेरिकाबाट संचालित खासोखास डटकमले जनाएको छ ।

यौन आक्रमण र शारीरिक दुव्र्यवहारमा सन् २०२४ को जुलाई २३ मा दोषी ठहर भएका एकजना ३९ वर्षका नेपालीलाई गत अप्रिल २४ मा अमेरिकाको अध्यागमन अदालतले देशनिकालाको आदेश दिएपछि जुलाई १५ मा न्युयोर्कको जोन अफ केनेडी विमानस्थलबाट नेपाल डिपोर्ट गरिएको थियो ।

त्यस्तै सन् २०२३ को जुलाई २४ मा यौन अपराधमा दोषी ठहर भएका अर्का ३६ बर्षका नेपालीलाई गत जनवरी १७ मा अदालतले देशनिकालाको आदेश दिएपछि नेवार्क अन्तर्राष्ट्रिय विमानस्थलहुँदै मार्च ६ मा देशनिकाला गरिएको थियो । सन् २०१५ को जुलाई १६ मा अमेरिका आएका उनी मेरिल्याण्ड बस्दै आएका थिए ।

जबरजस्ती घरमा प्रवेश गरेर डकैती गरेको अभियोगमा अर्का २८ वर्षका नेपाली सन् २०२३ को मे महिनामा अदालतबाट दोषी ठहर भएका थिए, यद्यपी अध्यागमन अदालतले उनलाई २०२० मा नै अमेरिकाबाट देशनिकालाको आदेश दिइसकेको थियो ।

देशनिकालापछि पनि अमेरिकामा नै बसेर डकैतीमा संलग्न उनलाई गत जुन १० मा एरिजोनाबाट नेपाल देशनिकाला गरिएको थियो । हतियारको प्रयोग गरी आक्रमणमा दोषी ठहर भएका अर्का नेपालीलाई अप्रिल २९ मा लोगन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल डिपोर्ट गरिएको थियो ।

३४ वर्षीय ती पुरुष २०१४ मा अमेरिका आएका थिए भने २०२३ मा आक्रमणमा दोषी ठहर भएपछि गत फरबरी १३ मा अध्यागमन अदालतले देशनिकालाको आदेश दिएको थियो ।