सगरमाथाको तिब्बती भूभागमा हिमपात, करिब १ हजार पदयात्री फसे, उद्धार कार्य जारी


काठमाडौं । हिमपातका कारण सगरमाथाको तिब्बती भूभागमा फसेका करिब १ हजार पदयात्रीको उद्धार कार्य तीव्र गतिमा भइरहेको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार चार हजार नौ सय मिटरभन्दा माथिको क्षेत्रमा बाटो अवरुद्ध पार्ने गरी बाक्लो हिउँ परेपछि सयौँ स्थानीय बासिन्दा र उद्धार टोली परिचालन गरिएको छ । चिनियाँ सञ्चारमाध्यमले रोयटर्सलाई उदृत गर्दै करिब ३५० जना पदयात्रीलाई सुरक्षित रूपमा चुदाङ सहरमा ल्याइएको जनाएको छ।

बाँकी फसेकाहरूको खोजी कार्य जारी रहेको बताइएको छ । शुक्रबार रातिदेखि सुरु भएको हिमपात शनिबारसम्म सगरमाथाको पूर्वी भागमा झन् तीव्र बनेको थियो । उद्धार गरिएका पदयात्रीहरूले अत्यन्त चिसो र भिजेको अवस्थामा हाइपोथर्मियाको जोखिम झेल्नुपरेको बताएका छन् ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार ब्लू स्काइ रेस्क्यु टोलीले टेन्टहरू भारी हिउँले ढलेपछि सहयोगका लागि थुप्रै फोन कल आएको र केही पदयात्रीमा हाइपोथर्मियाका लक्षण देखिएको जनाएको छ ।

टिङ्ग्री काउन्टीको पर्यटन प्राधिकरणले शनिबारदेखि सगरमाथा दृश्य क्षेत्रको प्रवेश बन्द गरेको र टिकट बिक्री रोकेको जनाएको छ । सगरमाथा विश्वकै सर्वोच्च शिखर हो, जहाँ हरेक वर्ष हजारौँ आरोहीहरूले जोखिमका बावजुद आरोहण प्रयास गर्छन् ।