-डा. सूर्यराज आचार्य
विसंगति र भ्रष्टाचारले राज्य संयन्त्र तन्नम भएको र आमजनतामा संस्थापनको राजनीतिप्रति चरम असन्तोष र आक्रोश उत्पन्न भएको अवस्थामा विदेशी चलखेलले फराकिलो ठाउँ पाउँछ। शक्तिशाली राष्ट्रहरूको स्वार्थ/चलखेल मिसिएको राजनीतिमा देखिनेभन्दा नदेखिने पाटोहरू नै निर्णायक हुन्छन् । सतहमा देखिएका घटनाप्रतिको प्रतिक्रिया र विश्लेषणमा समाज व्यस्त रहँदा, पर्दा पछाडिबाट विदेशी संयन्त्रले राष्ट्रलाई मार हानीरहेको हुन्छ, ‘रगत’ बगिरहेको हुन्छ। समाजले यथार्थ बुझ्दासम्म राष्ट्र बेहोस भइसकेको हुन्छ। राष्ट्रलाई फेरि बौरिन सजिलो हुँदैन।
अफगानिस्तानसहित पतन भएका राज्य/राष्ट्रहरूको हालत यही हो। स–साना घटनाहरूले नै राज्य र राष्ट्रलाई विघटनको संघारमा पुर्याउँछन्। हाम्रो दुर्भाग्य, नेपाल पनि विस्तारै त्यही बाटो पछ्याउँदै छ कि जस्तो देखिन्छ। यस्तो बेला राष्ट्रले आम नागरिक र घरेलु राजनीतिक शक्तिहरूबाट आवेग होइन, विवेक खोजेको छ।
देशलाई बर्बाद पार्ने भ्रष्टाचारीलाई कारबहि होस्। राष्ट्रिय सुरक्षा र अस्मितालाई अक्षुण राख्दै विदेशि हस्तक्षेपबाट मुलुकलाई जोगाउँ नत्र, निकट भविष्यमा हुने बहस/विश्लेषण ‘नेपाल किन बनेन र कसरी बन्छ’ भन्ने विषयमा होइन, ‘सार्वभौमसत्ता सम्पन्न नेपाल कसरी बर्बाद भयो’ भन्ने विषयमा हुनेछ, र त्यो पनि हामीले होइन, विदेशी विद्वानहरूले अध्ययन/चर्चा गर्ने छन् ।
अफगानिस्तानको ‘काबुललाई मध्य एशियाको पेरिस’ भनिन्थ्यो रे ! सन् २००९ मा New York Times ले ‘Remembering Afghanistan’s Golden Age’ भन्ने आर्टिकल छापेको थियो। नेपालका बारेमा पनि एक दिन त्यस्तै आर्टिकल छापिन सक्छन्। खै, कहाँ/कतै बसेर, आँसु झार्दै–झार्दै, देशभक्त नेपालीहरूले नेपालका यस्तै लेख पढ्नुपर्ने दुर्दिन नआओस् । समय घर्किँदै छ। सबैले विवेकपूर्ण चिन्तन गरौँ। पहिले देश जोगाऔँ।

प्रतिक्रिया