-उत्तमबाबु श्रेष्ठ ।
विगतका केही वर्षयता नेपालले मौषम पूर्वानुमानमा उल्लेख्य प्रगति गरेको छ । अहिले हेरौं न झरी र भारी बर्षातको पूर्वानुमान गरिएको थियो, त्यो ठ्याक्कै मिलेको छ । त्यही पूर्वानुमानममा आधारित भएर हामीले नितिगत निर्णयहरू जस्तै, राजमार्ग आवत जावतमा रोक, विपदको तयारी र तदारूकता देखायौं । त्यसो नगर्दा पोहोर साल ठूलो जनधनको क्षति भएको थियो । यसपालीको निर्णयले जनधनको क्षति र जनताको दुःखलाई पक्कै कम गर्नेछ । अहिलेको पूर्वानुमान प्रणालीको सुधार हुनको कारण जल तथा मौसम विज्ञान विभाग, जसले मौसमको पूर्वानुमान गर्दछ, उक्त निकायमा विगत केही वर्षयता भएको स्वदेशी तथा विदेशी लगानी र सहयोगको प्रतिफल हो । फिनल्यान्ड सरकारको सहयोगमा हामीले गणितमा आधारित मौसम पूर्वानुमान प्रणाली जडान गर्यौं । आफ्नै लगानीमा राडरहरू जडान गर्यौं । चीन, भारत र जापानका मौषमी स्याटेलाइटहरूले प्रत्येक १०(१० मिनेटमा खिचेका तस्बिरहरू हामीले पाउन सक्छौं । जसले पनि हाम्रा पूर्वानुमानहरू सुधारिन मद्दत गरेको छ ।
मौसम पूर्वानुमान एक किसिमको जटिल (हाम्रो जस्तो हावापानी र भूवनोट भएको ठाँउमा झनै चुनौतिपूर्ण) काम हो । मौसम पूर्वानुमान गर्नेहरूका कयौं भविष्यवाणी मिल्दा मान्छेहरूले त्यसलाइ मतलब गर्दैनन् तर केही पूर्वानुमान मिलेन भने लाइ हाँसोमा उडाउने गरिन्छ । त्यसको मतलब समाजले उनीहरू प्रति गरेको विश्वास पनि हो । जस्तै, दैनिक सयौं विमान उडान र अवतरण भएको समाचार बन्दैन् । केही गडवडी भएमा समाचार बन्दछ । किनभने हवाइ यात्रा एकदमै सुरक्षित यात्रा मानिन्छ ।एनेवे, भन्न खोजेको, विज्ञानमा लगानी गर्दा हामीले हाम्रो प्राथमिकता अनुसार गर्नुपर्दछ र त्यसमा गरिएको लगानीले देशलाइ राम्रो प्रतिफल दिन्छ । अब मौसम लगायतका तथ्यांकहरू खुल्ला (विना पैसा, open access) सबैले प्रयोग गर्न सक्ने बनाउनु पर्दछ । हाम्रा सरकारी निकायले, विश्वविद्यालय, अनुसन्धान संस्थाहरूले वनाएका, तयार पारेका तथ्यांकहरू अनिवार्यरूपमा open access गरिनु पर्दछ ।
मौसम विज्ञान लगायतका विज्ञानका क्षेत्रमा अझै धेरै लगानी हुन जरूरी छ, ताकी हामीले लामो समयको र स्थानिय स्थानको राम्रोसँग भविष्यवाणी गर्न सकियोस् । त्यसले जनधनको क्षति रोक्ने मात्रै होइन, आर्थिक हिसाबले पनि फाइदाजनक हुने (वालीको छनौट, पर्यटन प्रवर्धन इत्यादिमा) सहयोग पुगोस् । थप, हामीले विदेशी लगानी वा सहयोग भित्राउँदा हाम्रो प्राथमिकताको क्षेत्रमा भित्राउन जरूरी छ । झरिबाट सुरक्षित रहौं ।

प्रतिक्रिया