कार्कीकाबारेमा सरकारले विवेकपूर्ण निर्णय लिनुपर्छ


-नारायण गाउँले ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको व्यक्तित्व अब्बल खालको देखिन्छ । खासगरी सम्पत्ति शुद्धीकरणको क्षेत्रमा उहाँले लेखहरूमार्फत पनि सरकारलाई सचेत बनाउँदै आउनुभएको थियो । उहाँ अलि मुखर र ‘भिजिवल’ भए पनि निष्ठा र इमानमा प्रश्न उठाउने ठाउँ थिएन । विशेष अदालतको प्रमुख न्यायाधीशको रूपमा धेरै भ्रष्टाचारका फाइल र मुद्दा उहाँले हेर्नुभएको छ ।
योग्य र सक्षम भएकैले पुरानो सरकारले समेत मिटरब्याज पीडि़त सम्बन्धी आयोगको जिम्मा उहाँलाई दिएको थियो । यो जेनजी आन्दोलन, अकल्पनीय हिंसा र विध्वंशको छानबिन गर्न यस्तै शीर्ष व्यक्तित्व र हिम्मत आवश्यक छ । यो सामान्य दुर्घटनाको छानबिन होइन । यसलाई राष्ट्रिय अन्तर्राष्ट्रिय समुदायले पक्कै नजिकबाट हेर्नेछ । आयोगको निर्णय सरकारले कार्यान्वयन गर्ने बताइसकेकाले देशमा सुशासन, अमनचयन र विधिको शासन कायम गर्न आयोगको भूमिका एकदम महत्त्वपूर्ण देखिन्छ । वर्तमान सरकारले पनि यही विश्वास र आशयमा उहाँलाई आयोगको जिम्मा दिएको हुनुपर्छ ।

तर पछिल्लो समय उहाँ अलि बढी भावुक, अधैर्य र पक्षधर देखिनुभएको रहेछ । स्पष्ट रूपमा यसो यसो हुनुपर्छ भनेर हामी आममान्छे जस्तै धारणा र निष्कर्ष नै व्यक्त गर्नुभएको रहेछ । उहाँका पछिल्ला पोस्टले स्पष्ट रूपमा एउटा पक्षको समर्थन गरेको देखिन्छ ।

व्यक्तिको धारणा एउटा हुन्छ । तर जिम्मेवारीमा पुग्दा उसले निष्पक्ष जिम्मेवारी निभाउन सक्छ । प्रधानमन्त्री या राष्ट्रपति पार्टीको हुन्छ । तर पदमा हुँदा उसले सिङ्गो देश र कानुनको रक्षा गर्छ । पत्रकारको पार्टी र विचार हुन्छ । तर निष्पक्ष काम गर्छु भन्दै ऊ प्रेस काउन्सिलमा पुग्छ । हामीले मानेकै छौं । न्यायाधीश नै हामीले दलको सिफारिसमा बनाएकै छौं । तिनले निष्पक्ष निर्णय गर्ने विश्वास गरेकै छौं । कार्कीजीले पनि आजसम्मको आफ्नो व्यक्तित्व, मर्यादा र विवेक प्रयोग गर्दै पक्कै कानुनसम्मत निष्कर्ष निकाल्नुहुनेछ ।

तर पनि यसपालिको आयोग इतिहासकै अप्ठेरो र संवेदनशील भएको अनि लोकतन्त्रको मर्म र भविष्यसमेत जोडिएको विषय भएकाले अलि बढी निर्विवाद व्यक्तिलाई आयोग प्रमुख बनाउँदा त्यसको स्वीकार्यता बढ्न सक्छ । उहाँको पक्षधरता देखाएर भोलि आयोगको निर्णयलाई अदालतमा चुनौती पर्यो भने आयोगको मिहिनेत र वैधानिकता नै खतरामा पर्न सक्छ । जुन सबैका लागि अप्रिय हुनेछ । अझ सबैलाई थुन्नुपर्छ जस्तो आफ्नो पूर्वधारणा आइसकेकाले निष्पक्ष देखिने प्रेसरमा उहाँले कमजोर निर्णय गर्न सक्ने डर पनि रहन्छ । आफ्नो तटस्थता देखाउन लचिलो बन्न पर्यो भने पनि भ्रष्ट र अपराधी जोगिने डर हुन्छ ।

त्यसैले उहाँजत्तिको बौद्धिक, सुझबुझपूर्ण र निष्कलङ्क व्यक्तिले आफैं उचित निर्णय लिएर यो जिम्मा अरू कसैलाई सुम्पिनु जायज हुन सक्छ । यो न्यायिक दृष्टिले पनि उचित हुन्छ । नत्र उहाँको आयोगले दिने निष्पक्ष निर्णयलाई समेत विवादित र पक्षपाती सिद्ध गर्नेहरूलाई नै उल्टो बल पुग्न सक्छ । समय कम छ, गर्नुपर्ने धेरै छ । विश्वभर सबैको आँखा र चासो छ । त्यसैले सरकारले पनि पक्कै यसमा विवेकपूर्ण निर्णय लिनेछ भन्ने विश्वास छ ।