जेनजी सुदन र भूतको कथा


-सुवोधराज प्याकुरेल

मेरा २० जना केटा मरिसके, म अर्को ३० जना मर्न पठाइदिन्छु…… बाजेलाई शीतल निवासबाट घिसारेर निकाल्छु…… प्रधानमन्त्रीलाई बालुवाटारबाट तानेर निकाल्छु…. भन्दै थिए सुदन गुरुङ्ग । एकजना जेनजीलाई सोधेँ, को हुन् सुदन भनेर । उनले जवाफ दिए, हाम्रो दाइ ।

नभन्दै पुरै अनौपचारिक पोशाकमा प्रधानमन्त्रीको शपथ कार्यक्रममा सामेल हुँदा सबै उनीसँग त्रस्त देखिन्थे । उनीसँग जेनजीको लस्कर थियो । उनले सबैको परिचय गराए प्रधानमन्त्रीसँग । अनि लम्पसार परेर प्रधानमन्त्रीको खुट्टा ढोगे । त्यो ढोगाईको प्रचारले विष्णु रिमालले गराउने केपी ओलीको प्रचारलाई पुरै नेस्तनाबुद गरिदियो । सुदन को हुन् ?

एकजना उनको शिक्षकको कथन भन्दै गौतम बुद्ध भन्दा बढी करुणामयी भएको कथा भाइरल गराइयो । कथाले भन्छ, सुदन खेत जोतिरहेका हली नजिक जान्थे र उसलाई अंकमाल गर्थे । त्यो कथाका शिक्षकको फ्याक्ट चेक गरियो गरिएन थाहा छैन । कहिले उनले जेनजी दल खोले भनिन्छ । कहिले पुराना दललाई चुनावमा भाग लिन नदिने भए भनिन्छ । गाउँघरमा उहिले राँके र भकुण्डे भूतको कल्पनातित कथा सुनिन्थ्यो र हामी बाल्यकालका बचेरा राँके भूत र भकुण्डे भूतको तिलस्मी कल्पनाले डरकेमारे लुगलुग हुन्थ्यौं।

अहिले जेनजीका नायक भन्दै केही नवयुवा संविधान, लोकतन्त्रको अन्तर्यको बारेमा गहन विचार प्रस्तुत गरिरहेका छन् । यिनीहरु को हुन् ? प्रधानसेनापति, राष्ट्रपतिसँगको गहन छलफल र निर्णयको बेलामा नदेखिएका यी अनुहारहरु प्रधानमन्त्रीको पाउमा लम्पसार कार्यक्रममा पनि देखिएका थिएनन् । तथापि यीनको कथन अलिक भरोसिलो लाग्छ जसले भकुण्डे भूत र राँके भूतको डरलाई अलिक मत्थर पार्छ तर मुक्त भने गर्दैन । गर्न सकेको छैन।