जसलाई आन्दोलनले भगाएको थियो, ती थप उत्तेजना फैलाउन खोज्दैछन् !


-नारायण गाउँले ।

यतिबेला जति चर्को र उत्तेजक बोल्यो, त्यति पपुलर भइन्छ । बोलेको कुराको जवाफ माग्न या दिन कार्यकाल लामो पनि छैन । एउटा इतिहासकै ठूलो र अनौठो आन्दोलनको फ्रेस म्यान्डेट त छँदै छ । तात्तातो बोल्दा, एकदुई जनालाई स्टन्ट शैलीमा समाउँदा र अब देशमा सुशासन र आर्थिक समृद्धिको बाढी नै आयो भनेर भाषण गर्दा ताली बज्ने अवस्था छ । तर, यतिबेला सरकारका मन्त्रीहरूको भाषा र कदम भने निकै माझिएको, संयमित र सकारात्मक देखिन्छ । तिनले जोखिम मोलेर भए पनि, आफूलाई नियुक्ति दिलाउने आन्दोलनकारीको आक्रोश खेपेर भए पनि पपुलिज्मतिर नलागी सुशासन र विधिको बिउ रोप्न लागेको देखिन्छ ।

गृहमन्त्री तिनै हुन्, जसले कसैले छुन र चलाउन नसक्ने ठानिएका लोकमान सिंह कार्कीलाई विधि र कानुनकै बलले च्यालेन्ज गरेका थिए । आज गिरिबन्धु गिरिबन्धु गर्ने धेरै छौँ । तर विधि र कानुन टेकेर शक्तिशाली केपी ओलीको त्यो काण्डलाई असफल बनाउने उनै हुन् । गिरिबन्धु बारे उनले चर्को भाषण गरेको सुन्नुभएको छैन होला । गर्नै पर्दैन । उनले विधिबाटै तुहाइ सकेका हुन् । सर्वोच्चले फैसला गरिसकेर त्यो काण्ड रोकिइसकेको हो । हामी चर्को बोल्ने मात्रै हो ।

अहिले पनि उनी विधिकै कुरा गर्दै गरेका देखिन्छन् । हामीले चाहेको पनि विधिको शासन हो । विधि बलियो भयो भने भ्रष्ट आफै समातिन्छन् । आज लोकप्रियताको नाममा कसैलाई समाउन त सकिन्छ तर विधि र कानुन पुगेन भने भोलि अदालतले छोडि़दिन्छ । ती भोलि झन् बढी बलिया भएर निस्किन्छन् । विधि र प्रक्रियामा समय र धैर्य चाहिन्छ । विधि भनेको न्यायिक र अनुसन्धान गर्ने निकायलाई कुनै दबाबबिना काम गर्न दिनु र अपराधीलाई कानुनी कठघरामा उभ्याउनु हो । गृहमन्त्रीले निर्देशन दिएर मात्रै भ्रष्ट या अपराधी पक्राउ पर्ने ’विधि’ आज ठीक होला, भोलि घातक हुन्छ । त्यो ’रिभेन्ज’ जस्तो हुन्छ । उसले त सिस्टम बलियो बनाउने हो । काम गर्ने सिस्टमले हो । शायद गृहमन्त्री यही चाहन्छन् । उनी कानुन र विधिभित्रै रहने तर सटीक प्रहार हुने अस्त्रको खोजीमा छन् । पक्कै केही हुँदै छ । विधि बसेन भने दुई जना दुई दिन पुलिस खोरमा पुग्दैमा केही सुधार हुँदैन । भोलि तिनको ठाउँमा अर्को भ्रष्ट आउँछ ।

गृहमन्त्रीका रूपमा उनको दायित्व समाजमा सद्भाव, शान्ति र सुरक्षा कायम गर्ने पनि हो । उत्तेजना फैलाउने, द्वन्द्व बढाउने या प्रतिशोधको आगो बाल्ने होइन । यसमा उनी सचेत देखिन्छन् । काम पनि फत्ते हुने, लौरो पनि नभाँचिने उपाय जरूरी छ । अर्थमन्त्रीले पनि ब्लेम–गेम नखेली कसरी सुधार गर्न सकिन्छ, त्यतापट्टि ध्यान दिएको देखिन्छ । उनको प्रस्तुति निकै आशालाग्दो र जोड्ने खालको छ । प्रधानमन्त्री पनि सन्तुलित देखिनुहुन्छ ।

सुशीला कार्की आफैं आन्दोलनको नेतृत्व गरेर आएको होइन । सत्ता ढालेपछि आन्दोलनले नयाँ सत्ता र फूल प्रधानमन्त्री बनाएको भए बेग्लै हुन्थ्यो । सत्ता ढलेपछि बन्ने नयाँ सत्ताले नयाँ कानुन बनाउन सक्थ्यो । तर संविधान र कानुन यथावत् राखेर उहाँलाई चुनाब गराउने म्यान्डेट दिएर ’अन्तरिम’ प्रधानमन्त्री बनाइएको हो । कामचलाऊ मन्त्री । संसारमा चुनाबी प्रधानमन्त्रीले संविधान फेरेको इतिहास छैन । न विधि र प्रक्रिया छ । त्यो मान्य पनि छैन । झन् ठूलो द्वन्द्वतिर जानेमात्रै हुन्छ । उहाँले यो सीमा बुझ्नुभएको देखिन्छ । एउटा प्रधानमन्त्रीले नै संविधान फेर्ने हो भने त भोलि हरेक प्रधानमन्त्रीले फेरि त्यसलाई आफ्नो स्वार्थ र इच्छाअनुसार फेरिदिनेछन् । अबको विकल्प भनेको परिवर्तन चाहने युवा पुस्ता एक हुने, निर्वाचनमा बहुमत जुटाउने र संविधानमा परिवर्तन या सुधार गर्ने हो ।

तर, यत्रो आन्दोलनको तारो बनेका र आमजनतामा व्यापक असन्तुष्टि रहेका दलहरूले भने बारम्बार उत्तेजक र भड्किलो वक्तव्य किन दिइरहेका होलान् ? हिजो चरम बिचौलियावाद र भ्रष्टाचारको खेती गरेर असन्तोष र आक्रोश जन्माए । आज फेरि विष वमन गर्दै समाजलाई थप द्वन्द्वतिर लैजाने कुबुद्धि किन आएको होला ? यत्रो बीस–तीस वर्ष बोलिरहेकै हो । बीस–तीस दिन चुप लाग्न किन नसकेको होला ? जोसँग चर्को बोल्ने र गर्ने म्यान्डेट छ ती शान्त र विधिपूर्वक गर्न खोज्दै छन् । जसलाई आन्दोलनले भगाएको थियो, ती थप उत्तेजना फैलाउन खोज्दै छन् । अलिकति त बुझे हुने हो । अन्तिममा घाटा हुने तिनैलाई हो !