दलका नेताहरू बाहिर धेरै बोल्ने तर आफ्नो पार्टीभित्र केहीपनि गर्न नसक्ने अवस्थामा पुग्दा आलोचना बढ्योः पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको विद्यमान समस्या समाधान गर्न राजनीतिक दलबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीले शुकक्रबार आयोजित ‘भदौ २३ गतेको प्रदर्शन र भदौ २४ गतेको दिन घटेको विध्वंशात्मक घटनापश्चात मुलुकमा उत्पन्न परिस्थिति’ विषयक अन्तरक्रियामा उनले राजनीतिक दल र विभिन्न आस्था राख्नेहरूबीच समन्वय भएर नै अहिलेको समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीले सधैँ अहिलेको अवस्थामा मुलुक रहिरहन नसक्ने भन्दै यसको समाधान गरेर जानुपर्ने बताइन् । मुलुकका शक्तिका स्रोत भनेका जनता रहेको उल्लेख गर्दै उनले राजनीतिक दलहरूले आफ्नो दर्शन, सिद्धान्त, नीतिअनुसार काम गरे वा नगरेको बारेमा जान्न जनतामाझ जानुपर्नेमा जोड दिइन् ।

उनले दलका नेताहरूले बाहिर धेरै बोल्ने तर आफ्नो पार्टीभित्र केहीपनि गर्न नसक्ने भन्दै आलोचना गरिन् ।
उनले नयाँ पुस्ताको मनोविज्ञान, माग र आकांक्षा पहिचान गरी त्यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।

उनले भनिन्,‘दलका नेताहरूले बाहिर चाहिँ धेरै बोल्ने तर आफ्नो पार्टीभित्र केही पनि गर्न नसक्ने यस्तो तरिकाको सार्वजनिक आलोचना छ । त्यसैले सबैको कुरा सुन्नुपर्छ । सोही आधारमा पार्टीको मर्म अनुसार काम गर्न सकेको छ कि छैन बुझ्न आवश्यक छ । नयाँ पुस्ताको मनोभावना के छ, उनीहरूका मागहरू के छन्, त्यसलाई राष्ट्रले कसरी सम्बोधन गर्नसक्छ, त्यसमा ध्यान दिनुपर्छ । नयाँ पुस्ताको मनोविज्ञान, माग र आकांक्षा पहिचान गरी त्यसलाई सम्बोधन गर्नुपर्छ ।’

त्यस्तै उनले सधैं यस्तो अवस्थामा मुलुक रहिरहन नसक्ने भन्दै समाधान निकाल्नुपर्ने धारणा राखिन् । उनले भनिन्, ‘सधैं यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन । यसको हामीले समाधान निकाल्नुपर्छ । शक्तिका स्रोत भनेका जनताहरु हुन् । जनताहरुका बीचमा गएर राजनीतिक आफ्नो नीति, दर्शन अनुसार कार्यक्रम गर्नुभएको छ कि छैन् त्यो बुझ्नुपर्छ । जनताले के सुझाव दिन्छन् त्यस आधारमा अघि बढ्नुपर्छ ।’