काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले चाडपर्वको यात्रा सुरक्षित बनाउन चालक र यात्रु दुवैलाई सुझाव दिएका छन् ।
बुधबार सामाजिक संजालमार्फत मन्त्री घिसिङले हतार नगरी, सजग भई, नियम पालना गरेर यात्रा गर्न आग्रह गरेका हुन् । उनले चालकलाई गति नियन्त्रणमा राख्न, मदिरा सेवनपश्चात् कुनै हालतमा सवारी नचलाउन र विश्राम लिएर मात्र लामो यात्रामा निस्कन सुझाव दिएका छन् ।
यस्ता छन् मन्त्री घिसिङका सुझावः
‘तपाईंको जीवन र तपाईंको परिवार राष्ट्रको अमूल्य सम्पत्ति हो ।’ त्यसैले यो पर्वमा घर फर्किँदा वा यात्रा गर्दा रमाइलो त पक्का गर्नुहोस्, तर हतार नगरी, सजग भई, नियम पालना गरेर यात्रा गर्नुहोस् ।
चालक साथीहरूलाई अनुरोधः
–गति नियन्त्रणमा राख्नुहोस्,
–मदिरा सेवनपश्चात् कुनै हालतमा सवारी नचलाउनुहोस्,
–विश्राम लिएर मात्र लामो यात्रामा निस्कनुहोस्,
यात्रुलाई आफ्नो परिवारझैँ सम्झेर सुरक्षित गन्तव्यसम्म पुर्याउनुहोस् ।
यात्रु दाजुभाइ तथा दिदीबहिनीहरूलाई अनुरोधः
–क्षमताभन्दा बढी सवारीमा चढेर आफ्नो जीवनलाई जोखिममा नपारौं,
–चालकलाई दबाब नदिई शान्त र सुरक्षित यात्रा गर्न प्रोत्साहन गरौं,
–यात्राको क्रममा आवश्यक सुरक्षा र सावधानी अपनाऔं ।
–यस दशैंमा हाम्रो उद्देश्य केवल गन्तव्यमा पुग्नु मात्र होइन, सुरक्षित र खुसीसाथ पुग्नु पनि हो ।
सडक सुरक्षा नै जीवन सुरक्षा हो, जीवन सुरक्षा नै परिवारको खुसी हो, र परिवारको खुसी नै हाम्रो राष्ट्रको शक्ति हो ।

प्रतिक्रिया