काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालयको अनुगमन गरेका छन् ।
सोमबार महासचिव पोखरेलले कार्यालय पुगी ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा क्षति पुगेको कार्यालयको अनुगमन गरेका हुन् । भदौ २४ गते ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा एमाले पार्टी कार्यालयमा तोडफाड र आगजनी भएको थियो । आगजनी र तोडफोडबाट पार्टी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ ।
पार्टी कार्यालय निरीक्षणपछि भावुक बन्नुभएका महासचिव पोखरेलले उपस्थित पार्टी नेता–कार्यकर्तालाई सम्बोधन गर्दै खरानीबटौ फेरि उठने उदघोष गरे ।
‘नेपालको इतिहासमा यति विनाशकारी घटना कहिल्यै भएको थिएन, नेपालको स्वाभिमानमाथि छानीछानी आक्रमण गरिएको छ,’ महासचिव पोखरेलले भने, ‘नेपालको संविधान जारी भएको दिनलाई केन्द्र मानेर हामी खरानी बनाइएको देशभरका पार्टी कार्यालयबाट फेरि संविधानले परिकल्पना गरेको मुलुक बनाउने अठोटसहित उठ्ने छौँ।’
त्यसक्रममा महासचिव पोखरेलले अन्तरिम सरकार भएकाले सरकारले समयमै चुनाव गराउनुपर्ने बताए । उनले भने, ‘यो सरकार अन्तरिम सरकार भएका नाताले उसको कर्तव्य समयमा निर्वाचन गराउने कुरा हो, शान्ति सुरक्षाको वातावरण तयार गरेर समयमा निर्वाचन गराउने क्रममा सरकारको ध्यान जानेछ । नेपालका सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर जनताका बीचबाट अभिमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गर्नु पर्दछ भन्ने हामी ठान्दछौं। किनकी जनमत प्राप्त गर्ने माध्यम भनेको सधैंभरि सडक जनमत प्राप्तिको माध्यम हुन सक्दैन।’

प्रतिक्रिया