अर्थतन्त्र चलायमान बनाउन तत्काल हजार र पाँचसयका नोट फ्रिज गर्न सापकोटाको माग


काठमाडौं । नेपाली काँग्रेसका युवा नेता भरत सापकोटाले अर्थतन्त्र सुधारका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग जोडदार माग गरेका छन् । देशमा व्याप्त आर्थिक अनुशासनहीनता र माफियाकरणका कारण अर्थतन्त्र जर्जर बनेको भन्दै उनले नवगठित सरकारलाई ठोस कदम चाल्न आग्रह गरेका हुन् ।

सापकोटाले कालाबजारी, माफियासँग मिली करछली गरी अवैध रुपमा जम्मा गरिएको सम्पत्ति तत्काल छानबिन गरी सरकारी कोषमा दाखिला गर्न माग गरेका छन्। उनले जाली नोट, विदेशी तथा स्वदेशी अवैध मुद्रा, चोरी पैठारीबाट आएका बहुमूल्य धातु र गरगहना तत्काल जफत गर्न पनि सरकारसँग आग्रह गरेका छन्।

“पछिल्लो समय अनौपचारिक क्षेत्रमा विशिष्ट व्यक्तिहरुसँग थुप्रिएको रकम नियन्त्रण गर्न तत्काल हजार र पाँच सय दरका नोटमा प्रतिबन्ध लगाइनुपर्छ,” सापकोटाले भने। उनले करछली, दलाली वा विभिन्न माध्यमबाट संकलन गरिएको सम्पत्ति जफत गरी उत्पादन र रोजगारमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार भ्रष्टाचार, राजश्व छली र माफियाकरणका कारण राज्यको राजस्व गुम्दै गएको छ। उनले स्वदेश र विदेशमा थुपारिएको अवैध सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता औंल्याए।

अर्थ तथा उर्जा क्षेत्रलगायतका अपारदर्शी गतिविधिमा संलग्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय माफियाको अवैध सम्पत्ति जफत गरी अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने सापकोटाको माग छ।