काठमाडौँ । पूर्वसभामुखद्वय कृष्णबहादुर महरा र अग्नि सापकोटाले सङ्घीय संसदबाट तत्काल आवश्यक कानुन निर्माण गरी मुलुकलाई नयाँ जनादेशमा लैजाने मार्ग वैधानिक र उपयुक्त विधि हुने बताएका छन् ।
महरा र सापकोटाले शुक्रबार संयुक्त वक्तव्य जारी गरी उनीहरूले जेनजी पुस्ताले आह्वान गरेको आन्दोलनका क्रममा भएका घटनाहरूको निष्पक्ष, स्वतन्त्र र न्यायिक छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
वक्तव्यमा भनिएको छ, ‘नयाँ पुस्ताले देशको भविष्यप्रति बोकेको आकाङ्क्षा, इमानदार सोच र परिवर्तनप्रतिको दृढ चाहनालाई यो आन्दोलनले प्रकट गरेको छ । जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन लगायतका बलिदानपूर्ण आन्दोलनहरूले नेपाली जनतालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म ल्याएको छ । जेनजीको अहिलेको आन्दोलनको भावनालाई पनि यिनै ऐतिहासिक आन्दोलनको निरन्तरता मान्न सकिन्छ ।’
उनीहरूले ऐतिहासिक संविधानसभाबाट निर्माण गरिएको नेपालको संविधानको परिधिमा रहेर परिवर्तनका पक्षधर सबैको मागलाई सम्बोधन गर्दै अग्रगमनको दिशातिर अगाडि बढ्नुपर्ने भन्दै राष्ट्रपतिबाट भइरहेको पहल स्वागतयोग्य भनेका छन् ।


प्रतिक्रिया