देशको असहज परिस्थितिमा सबैलाई जिम्मेवार र शान्तिपूर्ण व्यवहार अपनाउन नागरिक सरोकार अभियानको आह्वान


काठमाडौं । नागरिक सरोकार अभियान नेपालले देशमा उत्पन्न असहज परिस्थितिमा राज्य पक्ष, राजनीतिक दलहरू, आन्दोलनरत पक्ष र आमनागरिकलाई संयमित, जिम्मेवार र शान्तिपूर्ण व्यवहार अपनाउन आह्वान गरेको छ । बिहीबार विज्ञप्ति जारी गरी अभियानले वर्तमान अवस्थामा हिंसा, अशान्ति र द्वन्द्वले कुनै पनि पक्षको हित नगर्ने बताएको हो ।

उसले लोकतान्त्रिक मूल्य, मानवअधिकार र शान्तिको सम्मान गर्दै सबै पक्षले संवाद, सहमति र सहकार्यको बाटो अवलम्बन गर्न आग्रह गरेको छ । त्यस्तै अभियानले स्थायी सरकार र सुशासनको लागी थालिएको आन्दोलनमा सहादत प्राप्त गरेका युवाहरूको त्यागलाई सम्बोधन गर्ने प्रतिबद्धता तत्काल जनाउन सम्पूर्ण सरोकारवालाहरूलाई अपील गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘देश अस्थिरताको भुमरीमा फस्ने, राष्ट्रियता संकटमा पर्ने वैदेशिक स्वार्थ केन्द्रको खेल मैदान बन्न सक्ने अवस्था सृजना हुन नदीन देशको संविधान र राष्ट्रियताको रक्षार्थ तत्काल राष्ट्रपतिको नेतृत्वमा मात्रै वार्ता र संवादको वातावरण सृजना गर्न नागरिक सरोकार अभियान नेपाल जोडदार माग गर्दछ । हामी विश्वास गर्छौं देशमा शान्ति व्यवस्था अझ बलियो बनाई जनजीवनलाई लयमा फर्काउन सुरक्षा निकाय लगायत सबैले आ– आफ्नो क्षेत्रबाट भूमिका खेल्न आवश्यक छ । संवाद र सहकार्यबाट मात्रै दिगो समाधान सम्भव छ।’

नागरिक अभियान नेपाल यो संवेदनशील घडीमा सबैलाई धैर्यता, संयम र रचनात्मक दृष्टिकोणका साथ अघि बढ्न अनुरोध गरेको छ ।