काठमाडौं । पूर्वप्रहरी अधिकारीहरुले जेनजी आन्दोलनमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक फोरम मोतिलाल बोहरा, नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक विनोद सिंह, पूर्वसशस्त्र प्रहरी संघका अध्यक्ष नारायणबाबु थापा, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक रमेश कुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभाग पूर्वप्रमुख देवीराम शर्मा र पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्र बहादुर शाहले विज्ञप्ति जारी गरी जेनजी समूहको आह्वानमा यही भदौ २३ र २४ गते काठमाडौंसहित देशका विभिन्न शहरहरूमा भएका प्रदर्शनहरूले हिंसात्मक रूप लिँदा दर्जनौ नागरिक र सुरक्षाकर्मीको ज्यान गएको तथा सयौं घाइते भएको खबरले अत्यन्त दुःखी भएको बताएका हुन् ।
उनीहरुले मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न र शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनीहरुले यस अनपेक्षित घटनामा देशैभरका निजी सम्पत्ति तथा सिंहदरबार, राष्ट्रपति भवन, प्रहरी कार्यालयका भवनहरुलगायत सार्वजनिक संरचनामा भएको ठूलो क्षतिसँगै, करिब १३ हजार कैदीबन्दी कारागारबाट भाग्नु गम्भीर सुरक्षा चुनौती बनेको उल्लेख गरेका छन् ।
प्रहरीको लामो अनुसन्धान र मिहिनेतपछि पक्राउ गरेका अपराधी समाजमा फर्कनुले नागरिकमा भय बढाएको विज्ञप्तिमा उल्लेख छ । विगत विभिन्न कालखण्डमा सुरक्षाकर्मीहरुले देखाएको कर्तव्य परायणयतालाई कायम राख्दै अहिलेको यो विषम अवस्थामा पनि उच्च मनोबलका साथ कर्तव्य पालन गर्नुपर्छ भने नागरिकले पनि सचेत भई संदेहास्पद गतिविधि वा सूचना सुरक्षासम्बन्धी निकायले जारी गरेका हेल्पलाइनमार्फत जानकारी गराई सहयोग पुर्याउन उनीहरुले अनुरोध गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक समाजमा नागरिकलाई आफ्ना विचार र असन्तुष्टि शान्तिपूर्ण ढंगले अभिव्यक्त गर्ने अधिकारलाई सधैंसम्म गर्नु पर्दछ । तर, हिंसा, तोडफोड, आगजनी वा राष्ट्रिय सुरक्षामा खलल पुयाउने कार्य स्वीकार्य हुन सक्दैन । त्यस्तै, सुरक्षाकर्मीहरूले नागरिक जीवनरक्षा र मानवअधिकारलाई प्राथमिकता दिँदै, आन्दोलन नियन्त्रणका क्रममा न्यूनतम बल प्रयोगको सिद्धान्तलाई अवलम्वन गर्दै र संयमित र व्यावसायिक आचरण प्रदर्शन गर्न आवश्यक छ । मुलुक तरल अवस्थामा पुगेको यस संवेदनशील घडीमा नागरिकको जिउ धन र सार्वजनिक सम्पत्तिको सुरक्षा हामी सबैको साझा जिम्मेवारी हो । तर, सरकारबिनाको यो अन्योलको अवस्था लामो समयसम्म रहिरहे अवान्छित समूहहरुलाई चलखेल गर्ने अवसर प्राप्त भई सुरक्षा चुनौती थपिने संभावना रहन्छ। त्यसैले सम्बद्ध पक्षहरूबाट यथाशीघ्र समस्याको सम्बोधनतर्फ पहल गरी दिगो राजनीतिक निकास दिनु अहिलेको अपरिहार्य आवश्यकता हो ।’
उनीहरुले यस घटनाबाट आगामी दिनमा सबैले पाठ सिक्नुपर्ने बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘यसबाहेक, राज्य पक्षले समयमै पर्याप्त सूचना संकलन, विश्लेषण, तयारी र जनभावनाको पूर्वानुमान गर्न नसक्दा र राज्यका कामकारबाही विरुद्ध उठेका आवाज सबै गलत छन् भन्ने सोंच तथा सरकारी स्थायी संयन्त्रहरुले पनि अन्धभक्त भएर त्यसलाई अनुशरण गरिरहँदा गुम्सिन गएको जनआक्रोशले यसरी एकाएक विष्फोटक परिस्थिति सिर्जना गर्दोरहेछ भन्ने यथार्थतालाई पनि सबैले मनन गर्नुपर्ने महत्वपूर्ण पाठलाई भविष्यमा बिर्सनुहुँदैन । यस्तो कठिन घडीमा संयमता, संवेदनशीलता, दूरदर्शिता अपनाउंदै इतिहासको यो निर्णायक मोडमा जिम्मेवार बन्न सबैमा अपील गर्दै शान्ति र कानुनी शासन पुनस्र्थापनाको राष्ट्रिय दायित्वमा हामी एकाकार भई सुरक्षा निकायलाई साथ दिने प्रतिवद्धता व्यक्त गर्दछौं ।’


प्रतिक्रिया