आफैं विवादमा अल्झियो जेनजी समूह


काठमाडौँ । आगामी सरकारको नेतृत्वको विषयलाई लिएर जेनजी समूहबीच नै विवाद भएको छ । बुधबार सैनिक मुख्यालय, जङ्गीअड्डा अगाडि विवाद गरेका जेनजीका समूह आज पनि त्यहाँ पुगेर विवाद गर्न थालेका छन् ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने एक समूहले प्रस्ताव गरेको र वार्ताको तयारी भइरहेका बेला जेनजीको अर्को समूहले कार्कीलाई अस्वीकार गरेको छ । त्यो समूहले कार्कीका श्रीमान कांग्रेस नेता भएकाले उनलाई बनाउन नहुने बताएका छन् ।

सैनिक मुख्यालय अगाडि भेला भएका जेनजी केही समूहले भने राजसंस्थाका प्रतिनिधिसहितको अन्तरिम सरकार गठनको माग गरेका छन् । कसैले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नाम अघि सारेका छन् । जेनजीबीच यही विषयलाई लिएर सैनिक मुख्यालय अगाडि विवाद भइरहेको छ । उनीहरुबीच विवाद भएपनि सेनाले उनीहरुलाई संयम हुन आग्रह गरेको छ ।