-डा. विश्व पौडेल ।
यो चाहिँ मेरो भैसेपाटीको घर जल्दै गरेको भिडियो हो । मैले योजना आयोगको उपाध्यक्ष हुनु अघिनै छात्रवृत्ति र देश विदेशमा काम गरेर साढे पाँच आना जग्गामा बनाएको घर हो । श्रीमती र मेरी ९ वर्षकी छोरीलाइ यो घर धेरै मनपर्ने भएकोले गभर्नर भएपछि पनि यहीँ बस्थ्यौं । गाडी पार्क गर्न मिल्ने जमिन पनि नभएको भनेर स्टाफहरुको पहिलो खेपको कमेन्ट आएको थियो ।
भित्र यसको बनावट सुन्दर थियो । माथिल्लो तल्लामा किताबैकिताब, मैले इबे आदिमा किनेका पुराना ऐतिहासिक सामग्री, बिभिन्न देशमा जाँदा किनेर ल्याएका कलाकृति थिए। देवीदेवताका मूर्ति, भियतनामी सिल्क पेन्टिङदेखि लिएर माओत्सेतुङसम्मका मूर्ति थिए । जम्मा ५०० प्रति छापिएको जंगबहादुरको गर्लफ्रेन्ड लौरा बेलको जीवनी पनि त्यहीँ थियो। छोरीको अत्यन्त मन पर्ने कोठा पनि त्यही थियो ।
अस्ति यो घर जल्नु दुई घन्टा अघिनै यो घर जलेको खबर एक प्रख्यात अनलाइनमा आयो। मैले बुझ्दा घरमा केही भएको थिएन । पछि भने घर भित्र मानिस गए । बा आमाको फोटो, मेरी छोरीको सानो छँदाको फोटो लात्ताले कुल्चेर फुटाए र सबैमा आगो लगाए। छोरीलाई कपन गुम्बाको गुरु रिम्पोछेले दिनुभएको एउटा मन्त्रेको खेलौना थियो, ऊ राति नतर्सियोस् भनेर च्यापेर सुत्न दिन्थ्यौँ। त्यो खेलौना पनि कुल्चिए र आगो लगाइदिए।
राति मेरी छोरी र श्रीमती नजिकको एउटा घर गएर सुते । म परको अर्को ठाउँमा । मेरा साथीहरुलाई थाहा छ, छोरी सुताउनुपर्छ भनेर म सधैं चाँडै घर आउँछु र कतै डिनर खाने गर्दिन । त्यो दिन हामी सबै ‘शरणार्थी’ भयौँ । किताब र कपडाहरु धेरै भएकोले ढिलो सम्म नै घर जलिरह्यो । राति पनि केही व्यक्तिले आएर बेलाबेलामा ढुँगा हानेर र सामान चोरेर गैराख्थे भनेर छिमेकीहरुले सुनाए ।
धेरै साथीहरुले मलाई फोन गरेर सोध्दा मैले ठिकै छ भन्ने जवाफ दिएको छु । हिजो राति म भन्दा पनि पीडामा परेका व्यक्तिहरुको बारेमा पढेँ । त्यसैले सबलाई सूचना होस् भनेर जल्दै गरेको मेरो घरको भिडियो पोस्ट गरेको छु । अब यसबारेमा अरु छलफल के नै गर्नुपर्ला र । नयाँ सरकार बन्दै छ । कसैलाई मैले दुई पैसा कसैको खाएको या मागेको खबर भए रिपोर्ट गरे हुन्छ । यो गभर्नरको पद पनि कस्तो अवस्थामा लिएको थिएँ भन्ने सबैलाई थाहै छ ।
पौडेल नेपाल राष्ट्र बैंकका गभर्नर हुन् ।

प्रतिक्रिया