राष्ट्रपतिलाई राजीनामा गर्न दबाब आएको हो ?


काठमाडौं । जेनजी आन्दोलनका कारण केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि देशमा अन्यौल बढेको छ । आन्दोलनमा ३० जनाको मृत्यु, एक हजार भन्दा बढी घाइते तथा सरकारका मुख्यमुख्य भौतिक संरचना ध्वस्त भएपछि अब के हुन्छ भन्नेमा आमनागरिकमा अन्यौल बढेको छ ।

सेनाले जेनजीलाई छलफलका लागि बोलाएको छ । जेनजीबीच नै आगामी सरकारको नेतृत्वको विषयमा विवाद छ । कसैले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम त कसैले बालेन साहको  नाम प्रस्ताव गरेका छन् । उनीहरुबीचको विवाद देखेर सेनाले अब समूहको नेता तोकेर मात्र आउनु भन्दै माइकिङ नै गरेको छ ।

उता प्रधानसेनापति अशोकराज सिग्देलले बुधबार मेडिकल व्यवसायी दुर्गा प्रसाईं र धरानका मेयर हर्क साम्पाङसँगसमेत छलफल गरेका छन् । जेनजीबीचको विवाद देखेर २०५९ सालमा संसद भंगपछि प्रधानमन्त्रीका लागि नेताहरूले तत्कालीन राजा ज्ञानेन्द्र समक्ष बिन्तिपत्र चढाएका झल्को आएको भन्दै विश्लेषण गर्न थालिएको छ ।

तर वरिष्ठ पत्रकार किशोर नेपालले राष्ट्रपति रामचन्द्र पौडेललाई सेनाले राजीनामा दिन आग्रह गरेको दाबी गरेका छन् । उनले सामाजिक संजाल एक्समा यस्तो दाबी गरेका छन् ।

वरिष्ठ पत्रकार नेपाल लेख्छन्ः
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हिजो भदौ २४ गते भएको सुरक्षा प्रमुखहरुको बैठकमा नेपाली सेनाका प्रधान सेनापतिले राष्ट्रपतिसँग ‘राजीनामा दिने’ आग्रह गर्दै भनेछन्, ‘बाँकी हामी सम्हाल्छौ ।’
राष्ट्रपतिको जवाफ थियोः म राजीनामा दिन्न । बरु, तपाईंहरु मलाई मारी दिनुहोस् र आन्दोलनकारीमाथि मेरो हत्याको आरोप लगाइदिनुहोस् । त्यसपछि जे मन लाग्छ त्यो गर्नुहोस् ।’