काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्रै सुन्दर भविष्य, समृद्धि र जवाफदेहिताको चाहना राख्ने युवाहरुको शान्तिपूर्ण प्रदर्शनमा भएको निर्मम दमनको कारणले देशले होनहार युवा गुमाउनु पर्दाको पीडाले मर्महत भएको बताएका छन् ।
सोमबार सामाजिक संजालमार्फत घिसिङले घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका हुन् । उनले जेनजी पुस्ताले उठाएका मागलाई तत्काल सम्बोधन गर्न पनि जोड्दार माग गरेका छन् ।
उनले भनेका छन्, ‘आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने दिन हो । देशभित्र व्याप्त बेथिति, बढ्दो भ्रष्टाचार , सामाजिक सञ्जाल बन्द लगायतका विषयलाई लिएर जेनजी पुस्ताले सोमबार देशभर स्वतस्फूर्तरुपमा गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले गरेको हिंसात्मक दमनको घोर निन्दा एवम् भत्र्सना गर्दछु। यो आक्रोश युवाहरूको सपना हो, नयाँ नेपालको सपना, पारदर्शी शासनको सपना र स्वतन्त्र सोचको सपना । हामीले सबै नागरिकको अभिव्यक्तिको अधिकारलाई संरक्षण गर्नुपर्छ। देशभित्रै सुन्दर भविष्य, समृद्धि र जवाफदेहिताको चाहना राख्ने युवाहरुको शान्तिपूर्ण प्रदर्शनमा भएको निर्मम दमनको कारणले देशले होनहार युवा गुमाउनु पर्दाको पीडाले मर्महात भएको छु। यस दुखद घडीमा ज्यान गुमाउने सम्पूर्ण युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। जेनजी पुस्ताले उठाएका मागलाई तत्काल सम्बोधन गर्न जोडदार माग गर्दछु । यस दुखद् घट्नाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ । राज्यले कलिला युवाहरुमाथि क्रुरतापुर्ण दमन गरेकोले यो आन्दोलनले जेनजीको मात्रै नभएर आम नेपाली जनताको आन्दोलनको रुप लिएको छ । साथै यस सम्वेदनशील घडीमा सबै पक्षले संयम्ता अप्नाउन समेत अनुरोध गर्दछु ।’

प्रतिक्रिया