काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार जेनजी पुस्ताले गर्ने प्रदर्शनलाई विथोल्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिएको छ ।
आइतबार साँझ पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले विज्ञप्ति जारी गरी जेनजीको यो प्रयासलाई बिथोल्ने, घुसपैठ र दमन गर्ने लगायतका कार्य नगर्न सरकार र सत्तापक्षीय दलहरूलाई खबरदारी गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘भोलि हुन लागेको नेपालको पछिल्लो पुस्ता (Gen- Z) को स्वस्फूर्त प्रदर्शनबारे जानकारी पाएर उत्साहित भएका छौँ । सरकारको श्रृंखलाबद्ध कुशासन र राज्यशक्तिको दुरूपयोग, स्वतन्त्रता र मौलिक हक हननका विरुद्ध हामी सदनदेखि सडकमा आवाज निरन्तर उठाइरहेकै छौं। यो परिप्रेक्षमा Gen Z समेत सशक्त ढङ्गले सडकमा आउन आँट्नु उल्लेख्य राजनीतिक परिघटना हो । सार्वजनिक मामिलामा सबैको लोकतान्त्रिक संस्कारसंगत प्रत्यक्ष हस्तक्षेप रहोस् भन्ने मान्यता हाम्रो दलको रहेको छ ।’
उनले नवयुवा पुस्ताको यस अभूतपूर्व प्रदर्शनमा सरकारको प्रतिक्रिया एवं वक्रदृष्टिमाथि हाम्रो निगरानी रहने उल्लेख गरेका छन् । साथै, उनले पछिल्लो पुस्ताको सडक प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीसँग आबद्ध लगायत समस्त युवाहरूलाई कुनै पनि दलीय संकेत, नारा र परिचय प्रयोग नगरी ऐक्यवद्धता प्रकट गर्न आग्रह गरेका छन् ।


प्रतिक्रिया