सामाजिक सञ्जाल बन्द गर्ने निर्णय विरुद्धका रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार


काठमाडौं । सर्वोच्च अदालतले नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट दर्ता गर्न अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतका रजिष्ट्रार मानबहादुर कार्कीले अधिवक्ता डा. सुनिलरंजन सिंह, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितका १० वटा रिट दरपीठ गरेका हुन् । तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको वृहत् पूर्ण इजलासबाट सामाजिक सञ्जाललाई नियमन गर्न परमादेश जारी भएको कारण देखाएर १० वटै रिट दर्ता गर्न सर्वोच्च प्रशासनले इन्कार गरेको हो ।

नियमन गर्नुपर्नेमा सामाजिक सञ्जाल बन्द गरेर नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन् गरिएको दाबीसहित वरिष्ठ अधिवक्ता त्रिपाठीसहितले शुक्रबार नै सर्वोच्चका निवेदन दिएका थिए ।

सर्वोच्च प्रशासनले अध्ययन गरेर आइतबार रिट दरपीठ गरेको हो । नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्न सर्वोच्च अदालतले दिएको परमादेश र मन्त्रिपरिषद्को निर्णयलाई आधार मानेर सञ्चार मन्त्रालयले भदौ १९ गते २६ सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो । त्यसपछि अधिकांश इन्टरनेट सेवा प्रदायकको सर्भरमा फेसबुकलगायतका सामाजिक सञ्जाल चल्न छाडेका छन् ।