सामाजिक संजाल प्रतिबन्धको विरोधमा पत्रकारहरुको प्रदर्शन, जेनजी पुस्ताको सोमबार हुने आन्दोलनमा समर्थन बढ्दै


काठमाडौं । सरकारले सामाजिक संजाल बन्द गरेको विरोधमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध र प्रेस स्वतन्त्रता तथा नागरिक अधिकारको रक्षाका लागि पत्रकार संघ–संस्थाहरुले आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले सामाजिक सञ्जाल प्लाटफर्महरूलाई सात दिनभित्र अनिवार्य रूपमा सूचीकृत हुन दिएको समयसीमा गत बुधबार रातिदेखि सकिएको थियो । समयसीमाभित्र सूचीतकृत हुन नआएका २६ वटा सामाजिक संजाल प्लेटफर्मलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बन्द गर्ने निर्णय गरेको थियो । त्यसपछि अहिले फेसबुकलगायतका २६ वटा सामाजिक संजाल प्लेटफर्म नेपालमा चलेका छैनन् ।

यसैबीच जेनजी पुस्ताले सोमबार काठमाडौंमा वृहत प्रदर्शन गर्ने घोषणा गरेको छ । सामाजिक सञ्जालमा भ्रष्टाचार, असमानता र सत्ताको दुरुपयोगविरुद्ध जेनजी पुस्ताले आन्दोलनको घोषणा गरेका हुन् ।

सोमबार हुने भनिएको यो विरोध प्रदर्शनलाई सामाजिक सञ्जालमा समर्थन पाएको छ । देशमा भ्रष्टाचार बढेको, सामाजिक सञ्जाल बन्द गरेर लाखौंको आम्दानीको स्रोत बन्द गरिदिएको भन्दै सरकारप्रति आक्रोश पोखिएको छ र आन्दोलनमा सहभागी हुन आव्हान गरिएको छ । यस आन्दोलनका लागि सामाजिक सञ्जालमा ‘कन्टेन्ट क्रियटर’ को काम गरिरहेका कैयौंले समर्थन गरेका छन् ।

जेनजी पुस्ताको आन्दोलनलाई दुर्गा प्रसाईंले पनि समर्थन जनाएका छन् । उनले यो देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा आफैं सरिक हुने उल्लेख गरेका छन् । त्यस्तै राष्ट्रिय शक्ति नेपालले पनि जेनजी पुस्ताको आन्दोलनमा समर्थन जनाएको छ । पार्टी अध्यक्ष केशरबहादुर विष्टले विज्ञप्ति जारी गरी आन्दोलनमा समर्थन र ऐक्यवद्धता रहेको जनाएका हुन् ।