अनधिकृत संरचना हटाउन ललितपुर महानगरपालिकाले चलायो डोजर


ललितपुर । ललितपुर महानगरपालिकाले अनधिकृत संरचनामा डोजर चलाएको छ । महानगरपालिकाले आइतबार बुद्धिविकास मंगल तथा क्षयरोग निवारण संस्था अन्तर्गतका दुई भवनमा डोजर चलाएको हो । महानगरले ती भवनहरू सार्वजनिक योजना अन्तर्गतको क्षेत्रमा परेकाले हटाउनु परेको जनाएको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले, भवनहरू डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) अनुसारको विकास कार्यक्षेत्रभित्र परेकाले भत्काउनु अपरिहार्य भएको बताए । उनका अनुसार यसअघि नै सोही क्षेत्रमा पर्ने वडा नं. ५ को वडा समितिको भवन र अन्य पसलहरू पनि हटाइएको थियो ।

महानगरपालिकाले ३५ दिनको सूचना अवधि दिएर भवन खाली गर्न आग्रह गरेको थियो । सो अवधि शनिबार सकिएपछि आइतबार कार्यालय समयमै डोजर प्रयोग गरी भवनहरू भत्काइएको हो ।