-जेपी गुप्ता
एक जमाना थियो, सरकारले ‘एम्योचोर रेडियो’ को लाईसेन्स जारी गथ्र्यो । समाजमा स्थापित तथा नाम चलेका धेरै मानिसहरू आज पनि छन्, जसले सरकारबाट संचालित यसको संचालन प्रशिक्षणमा सहभागी रहेका थिए । यसको उद्देश्य थियो–ठूलै दैवीप्रकोपका कारणले स्थापित सबै रेडियो फ्रिक्वेन्सीका माध्यमहरू ध्वस्त हुन गएको बखत यस एम्योचोर रेडियोले काम गरोस् ।
हिमाल आरोहणमा पर्वतारोहीहरू जान्थे । दुर्घटना हुन्थ्यो । ज्यान जान्थ्यो, राहत तथा उद्धारको लागि सरकार एवं सम्बद्ध मुलुकहरूसम्म खबर पुग्दैन्थ्यो । मरेका मानिसहरूका शरीर यतिकै हिऊँमा पुरिएर हराउद्थ्यो । त्यस जमानामा सेटलाईट फोन भित्राइयो । दुर्लभ तथा धनीमनीले पनि खरीद गर्न नसक्ने । सरकारले यसको इजाजतमा सरलता ल्यायो । गल्फका ‘थुराया’ कम्पनीले विकसित गरेको सेटको आयात खोलियो। दुःसाहिक पर्यटन जगतमा संचार क्रान्ति भयो ।
ऊ बखत इजाजत लिई ‘रेडियो ट्रान्जिष्टर’ राखिन्थ्यो । इजाजतका लागि पुलिस रिपोर्ट चाहिन्थ्यो । काँग्रेस, कम्युनिष्टहरू पुलिसको दैलोसम्म पुग्न पाउँदैथे । पञ्च भलाद्मी उपवादमा थिए । उनैको घरदैलोमा गई बीबीसी, आकाशवाणी र शर्टवेभमा रेडियो ट्रान्जिष्टर सुन्नु पर्दथ्यो । यसलाई फुक्का गरियो । लाइसेन्स लिइने र चाहिने प्रावधान हटाइयो ।
फ्रिक्वेन्सी मोडुलेशन प्रविधिको लोकप्रिय नाम एफएम हो । नेपालमा यो भित्रिनुको लामो कथा छ । यो भित्रिए पछिपनि आम हुन सकेको थिएन । त्यो दिन थोरैलाई थाहा होला, जब संचारमन्त्री जिल्ला गएको बेला, तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाको अनिच्छा तथा रेडियो नेपाल र नेपाल टिभीका कर्मचारीहरूका विरोधका बावजूद संचार राज्यमन्त्रीले “पछि मन्त्रिपरिषदबाट स्वीकृति लिइने गरी सदर” भनी फायल सदर गर्यो। काम थोरै गलत थियो, तर जनहितको थियो । प्रधानमन्त्री आगो भए, अख्तियारले पाता कस्यो । यद्यपि नेपालमा व्यवसायिक एफएम रेडियोको ध्वनी गरिब गुरूबा, राजा रैति सबको कानमा पुग्यो । जनता जान्न थाल्यो ।
टेलिभिजन सरकारको थियो । प्रसारित सबै सामग्री सरकारी निकायकै नियन्त्रणमा थियो । टिभी कार्यक्रम उत्पादन गर्ने एकमात्र संस्था थियो–आर के मानन्धरको ईमेज च्यानल । नाम त च्यानल थियो । तर, उसका मालिक नेपाल टिभीमा २५ मिनेटको गीत संगीतको कार्यक्रम प्रायोजन गर्न संचार मंत्रालयको सिँढीमा बसिरहेको देखिन्थे । यसरी नेपाल टिभीमा इमेज च्यानलको नामबाट निजी क्षेत्रले तयार गरेको स्वतन्त्र कार्यक्रमहरू थोरै समय खरिद गरि बज्न थाल्यो । यहीँबाट शुरू हुन्छ, निजी क्षेत्रको टेलिभिजनको जन्म ।
पेजर आयो । प्रविधी असान्दर्भिक भयो । नयाँ प्रविधि आयो मोवाईल आयो। राजा वीरेन्द्रको मोवाइल नम्बर भयो अन्तिम अंक एक, संचारमन्त्रीको भयो पन्ध्र । यसको कथा फेरि उत्तिकै लामो छ । त्यता नजाउँ । वि षय मोडिन्छ। अन्यत्रै बग्छ।
संचारको यसरी क्रमिक विकासमा अरूहरूकै क्रममा जहाँ म पनि थिएँ, तर माथि उल्लेख गरिएका विकास क्रममा म त थिएँ नै–आज हिमालको काखमा याद गर्दछु कि आममानिसका लागि पछिल्लो कालखण्डमा कसरी विकसित हुँदै गयो आम संचारका माध्यमहरू ।
यो विकास, यसबाट सबैमा परेका प्रभाव कसरी बैरी भयो ? अदालतका लागि पनि मौका पर्खेका सरकारका लागि पनि ? हतार हतार दुईचार हरफ लेखे । नेट समात्छ छोड्छ–लाङटाङ हिमालको यो काँखमा । हतारिएको छु, कहीँ पोष्ट गर्नु अगावै न बन्द होस् । फेरि घरमा पनि दुई चार बोली बोल्नु पनि छ। यहाँकै जस्तो नीरव, निस्तब्ध सारा नेपाल हुनु अगावै थोरै केही लेखि हाल्ने काम पनि सकें ।

प्रतिक्रिया