पूर्वराष्ट्रपतिको सदस्यताको विषय विधान महाधिवेशनसँग सम्बन्धित छैनः प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताको विषयलाई अनावश्यक ढंगले उचालिएको आरोप लगाएका छन् ।

शुक्रबार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पूर्वराष्ट्रपतिको विषय महाधिवेशनसँग सम्बन्धित नभएकाले छलफल हुनै नसक्ने बताए।

उनले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यताको विषय कमिटीगत छलफलको विषय भएकाले त्यहीँ छलफल हुने स्पष्ट गरे । उनले विधान महाधिवेशनमा विधानसँग सम्बन्धित विषयमै छलफल केन्द्रित हुने पनि बताए।

उनले भने, ‘विधान महाधिवेशनमा बेला–बेला केही विषय अनावश्यक ढंगले अघि बढाइएका छन्। ती कुरा विधान महाधिवेशनसँग सम्बन्धित छैनन्। ती विषय अन्यत्रै कमिटीगत छलफलका विषय हुन्।’

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै कसैमा जादूको नम्बर रहेको भन्दै भ्रम परेको बताए ।

उनले भने, ‘चारवर्ष अगाडि हामीहरूलाई प्रताडित अवस्था, ब्याक बेन्चरजस्तो अवस्थामा राख्न खोजिएको थियो । कांग्रेस र एमालेको अगाडि हामीलाई समर्थन गर्नुको विकल्प छैन, कि एउटाले समर्थन गर्छ, कि अर्काले गर्छ भनेर तेस्रो पार्टीले भन्ने गथ्र्यो ।’

उनले माओवादीलाई आफ्नो संख्या म्याजिक नम्बर रहेको भ्रम पर्न शुरू गरेको बताए । ‘त्यो जादू हो । यही जादू आफ्नो हातमा छ भन्ने केही मान्छेलाई भ्रम परेको थियो । त्यसलाई एमालेले फेरेको छ । देशमा जुन अस्थिरता र अराजकता फैलिएको थियो, त्यो नियन्त्रणमा आएको छ ।’

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव पेश गर्नेछन् भने महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गर्नेछन् । त्यस्तै उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्नेछन् । महाधिवेशनमा प्रतिनिधिहरूले समूहगत रूपमा यी प्रस्तावहरूमाथि छलफल गर्नेछन् ।