पत्रकार महासंघले भन्यो-सामाजिक संजाल बन्द गर्ने सरकारको निर्णय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी


काठमाडौं । नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालले बिहीबार विज्ञप्ति जारी गरी नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल बिहीबारदेखिनै बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने देखिएकोले सरकारी निर्णयप्रति असहमति जनाएका हुन् ।

उनले कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन आउनेमात्र नभई नागरिकको सूचनाको हक समेत प्रभावित हुन सक्ने पक्षलाई सरकारले ध्यान दिन नसकेकोमा महासंघ आश्चर्य प्रकट गरेको छ ।

महासंघले सामाजिक सञ्जाल नियमनको पक्षमा रहेको तर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने गरी कुनै पनि माध्यम नियन्त्रणको कदमलाई कदापी स्वीकार नगर्ने जनाएको छ ।

महासंघले नागरिकको सूचनाको हक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै तत्काल सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउन सम्बद्ध पक्षसँग माग गरेको छ । सरकारले सूचीकृत हुन नआएका फेसबुक, ट्वीटरलगायतका २६ वटा सामाजिक संजालका प्लेटफर्म बन्द गर्ने निर्णय गरेको छ ।