विराटनगर । सुनसरीको झुम्का कारागारमा दुई सातामा चार कैदीको मृत्यु भएको छ । कारागारमा भाइरल ज्वरोले धेरै कैदीबन्दी बिरामी परेका छन् ।
एकैपटक धेरै कैदी बिरामी भएपछि स्वास्थ्य परीक्षण सुरु गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बुधबार राति चिकित्सकको टोलीले साढे ३०० भन्दा धेरै कैदीबन्दीको स्वास्थ्य परीक्षण गरेको जानकारी दिए ।
अचानक बिरामी परेका कैदीबन्दीलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको जेल प्रशासनले जनाएको छ ।
बुधबार साँझ सप्तरीका ४६ वर्षीय जलेश्वर यादवको मृत्यु भएको थियो । त्यसअघि, धरानका सागर राई, सुनसरीका रामदेव उराँव र भोजपुरका विकास राईको उपचारका क्रममा मृत्यु भएको थियो । उनीहरूमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो ।

प्रतिक्रिया