अनुमति नलिएका ओटीटी प्ल्याटफर्ममा प्रशारण हुने विज्ञापनसहितका सामग्रीमा रोक लगाउन सर्वोच्चको परमादेश


काठमाडौं । सर्वोच्च अदालतले नेपालमा अनुमति नलिएका ओटीटी प्ल्याटफर्ममा तथा च्यानलहरूमा इन्टरनेटमार्फत प्रशारण हुने विज्ञापनसहितका सामग्रीमा रोक लगाउन परमादेश जारी गरेको छ ।

अधिवक्ता विश्वेश्वरप्रसाद गौतम र अनिता बजगाईंले दायर गरेको रिटमाथि न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले यस्तो परमादेश जारी गरेको हो ।

सर्वोच्चले इजाजत नलिएर चलेका त्यस्ता विज्ञापन प्रसारण गर्ने माध्यममाथि प्रतिबन्ध लगाउन बाटो खुला गरिदिएको हो । रिटमा इन्टरनेट ब्राउजरमा भएका अनधिकृत प्रसारण सेवाहरूलाई रोक्न परमादेश माग गरिएको थियो । रिटमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, विज्ञापन बोर्ड, नेपाल दूरसञ्चार प्राधिकरणलायतलाई विपक्षी बनाइएको थियो।