काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले लिपुलेक सम्झौताबारे कुरा राख्दा चिनियाँ राष्ट्रपति सीले पन्छिने गरी जवाफ दिएको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले नेपालको सार्वभौमिकतामाथि चीनले अपेक्षित सम्मान नदिएको बताएका हुन् ।
उनले बरु छलफलको एजेन्डामा नै नआएको भनिएको जीएसआई प्रस्तावमा नेपाल सहमत भएको भन्ने चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिमा आएको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘प्रधानमन्त्रीले लिपुलेकबारे राख्नुभएको आपत्ति चीनको परराष्ट्र नोटमा कुनै उल्लेख छैन। बरु छलफलको एजेन्डामा नै नआएको भनिएको जीएसआई प्रस्तावमा नेपाल सहमत भएको भन्ने विज्ञप्तिमा उल्लेख भएर आयो। किन र कसरी ? यसबारे प्रधानमन्त्रीको सचिवालय र परराष्ट्र मन्त्रालयले समयमै स्पष्ट गर्नुपर्छ।’
नेपालबाट चीनले सँधै एक चीन नीतिप्रति सदैव समर्थनको अपेक्षा गर्दै आएको तर, नेपालको सार्वभौमिकताको विषयमा भने पन्छिन खोजेको आरोप लगाए । उनले भने, ‘नेपालबाट एक चीन नीतिप्रति सदैव समर्थनको अपेक्षा गरिराख्ने मित्र राष्ट्र चीनले हाम्रो सीमा, भौगोलिक अखण्डता र सार्वभौमिकताका प्रति पनि सोही अनुरुपको सम्मानभाव नेपालले पनि राख्दछ भन्ने हाम्रो अपेक्षा स्वभाविक हुन्छ। यो विषय हामीले बुझाउन नसकेको वा स्वयम चीनले बुझ्न नचाहेको हो यो स्पष्ट हुनुपर्ने विषय रह्यो।’
उनले सीमा, भौगोलिक अखण्डता र सार्वभौमिकताका सवालमा संसद, राजनीतिक दल र नागरिक समाज एक ढिक्का हुनुपर्ने बताए ।
उनले नेपालको सहमतिबिना लिपुलेकलाई दुई देशबीचको व्यापारिक मार्ग बनाउनेगरी भारत र चीनबीच भएको सहमतिप्रति प्रधानमन्त्रीले आपत्ति जनाएकोमा धन्यवाद व्यक्त गरे । उनले सीमा विवादको समाधानका लागि दुई छिमेकी देशहरूसँगको कूटनीतिक बहस र छलफलबाट निकाल्नुपर्नेमा जोड दिए। उनले सुगौली सन्धिअनुसार कालापानी, लिपुलेक र लिम्पिधुरा नेपालकै भएको स्पष्ट पारे ।
उनले भने, ‘आफ्नो देशको सीमा, भौगोलिक अखण्डता र सार्वभौमिकताका सन्दर्भमा सिंगो संसद सम्पूर्ण राजनीतिक दलहरू, सिंगो नागरिक समाज, नेपाली प्रेस जगत र नेपाली जनता विगतमाझैँ एक ढिक्का छन् र एकसाथ उभिएका छौं हामी भन्नेमा पनि म विश्वस्त छु ।’

प्रतिक्रिया