डा. गोविन्द केसीले तोडे अनशन


काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता डा गोविन्द केसीले अनशन तोडेका छन्। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारको मागसहित ३ दिनदेखि कैलालीको गेटा अस्पतालमा अनशनरत केसीले मंगलबार अनशन तोडेका हुन् ।

उनले अस्पतालमा रहेका बिरामी प्रितम चौधरीको हातबाट चुस पिएर दिउँसो २ बजे अनशन तोडेका हुन् । केसीको शरीरमा ग्लुकोजको मात्रा तीव्र गतिमा घट्न थालेको थियो ।

केसीले प्रधानमन्त्री केपी शर्मा ओली र चिकित्सा शिक्षा आयोगले गलत ढंगले निजी मेडिकल कलेजहरूलाई विद्यार्थी सिट संख्यावृद्धि गर्ने निर्णय गरेको आरोप लगाएका थिए ।

उनले तुरुन्त उक्त निर्णय फिर्ता लिन, शुल्कवृद्धि नगर्न, सम्झौताअनुसार इलाम, उदयपुर र डडेल्धुरामा सरकारी मेडिकल कलेज खोल्न र गेटाको मेडिकल विश्वविद्यालयमा तत्काल पूर्ण क्षमतामा अस्पताल सेवा र शैक्षिक कार्यक्रम सुरु गर्न माग गरेका गरेका थिए ।