भदौ मसान्तसम्म बिपी राजमार्गमा राति सवारीसधान संचालनमा रोक


काठमाडौं । बिपी राजमार्गमा थप १५ दिन राति सवारीसाधन संचालनमा रोक लगाएको छ । आइतबार जिल्ला सुरक्षा समिति काभ्रेको बैठकले भदौ मसान्तसम्म साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारीसाधन संचालनमा रोक लगाउने निर्णय गरेको हो । गतवर्षको बाढीले बिपी राजमार्ग क्षतिग्रस्त भएको थियो ।

अहिले अस्थायी रुपमा राजमार्ग संचालन गरिएको छ । काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने निजी तथा सार्वजनिक सवारी साधनलाई साँझ ५ देखि बिहान ५ बजेसम्म रोक लगाउने निर्णय भएको जानकारी दिए ।

सडकमा राति यात्रा गर्न जोखिमपूर्ण रहेकाले गत साउनदेखि नै बिपी राजमार्गमा राति सवारीसधान संचालनमा रोक लगाइएको छ ।