बामदेवको दाबीः आगामी निर्वाचनमा एकीकृत समाजवादीको बहुमत


सुदूरपश्चिम । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता बामदेव गौतमले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने विश्वास व्यक्त गरेका छन् ।

शनिबार धनगढीमा आयोजित पार्टीको बैठकमा गौतमले २०८४ को निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्याउने आफ्नो सङ्कल्पलाई साथ दिन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

उनले भने, ‘निर्वाचनमा बहुमत ल्याएर पार्टीकै नेतृत्वमा सरकार गठन गर्ने र नेपालमा गरिबी समाप्त पारेर समाजवाद निर्माणका लागि उदाहरण दिनसक्नुपर्छ ।’

‘एक व्यक्ति, एक जिम्मेवारी’ दिएर पार्टी अघि बढ्ने उनले बताए । तत्कालीन नेकपाबाट बाहिरिएपछि नेकपा एकता अभियान चलाका नेता गौतम केही समयअघि नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका हुन् ।