रास्वपाका नेता कँडेल नक्कली शैक्षिक प्रमाणपत्र बनाउने काममा संलग्न भएको आरोपमा पक्राउ


भैरहवा । नक्कली शैक्षिक प्रमाणपत्र, स्टाम, होलोग्राम तथा स्टिकर सहित भारतीय नागरिक पक्राउ परेको प्रकरणमा रास्वपा नेता समेत तानिएका छन् । गत शुक्रबार साँझ रुपन्देही प्रहरीले भारतीय नागरिक अभिषेक यादवको साथबाट ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्र, स्टाम, होलो ग्राम तथा स्टिकर बरामद गरेको थियो ।

पक्राउ परेका अभिषेक यादवको बयान पछि रुपन्देही प्रहरीले चितवनका रास्वपा नेता डा.हरि प्रसाद कँडेललाई नियन्त्रणमा लिएको हो । उनलाई चितवनबाट बुधवार नियन्त्रणमा लिएर रुपन्देही ल्याइएको छ ।

रुपन्देही प्रहरीले गत शुक्रवार साँझ साँझ ६ः ३० बजे सिद्धार्थनगर नगरपालिका वडा नं १ बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथमा प्रवेश गर्न लागेका भारतको उत्तर प्रदेश, कानपुर नववस्ती बस्ने २५ वर्षीय अभिषेक यादवलाई खानतलासी गर्दा उनको साथबाट ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्र, स्टाम, होलोग्राम फेला परेको थियो ।

पक्राउ परेका यादवले डा.हरि प्रसाद कँडेलको संलग्नता खुलाएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीप कुमार क्षेत्रीले जानकारी दिए ।

कँडेलले चितवनको लायन्स चोकमा कलेज कोच नेपाल प्रालि नामको शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएका थिए । कँडेलले सोही परामर्श केन्द्रबाट नक्कली शैक्षिक प्रमाणपत्र बिक्री वितरण गर्ने गरेको प्रहरीको दाबी छ।