नयाँ संसद भवनको कन्फ्रेन्सिङ सिस्टमको परीक्षण


काठमाडौं । नयाँ संसद भवनको कन्फ्रेन्सिङ सिस्टमबारे शुक्रबार परीक्षण गर्दै डेमो प्रदर्शन गरिएको छ । सिंहदरबारभित्रै बनिरहेको संसद भवनमा आधुनिक प्रणाली जडान गरिँदैछ । विभिन्न देशमा प्रयोग भएको अत्याधुनिक प्रणाली नै नेपालको संसदमा प्रयोग गरिएको शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले जानकारी दिए ।

‘नयाँ संसद भवनमा प्रविधिको बारेमा आज उपप्रधानमनत्री एवम् शहरी विकास मन्त्रीज्यूलाई ब्रिफिङ गरिएको छ । संसद भवनमा राखिएको कन्फ्रेन्सिङ सिस्टमले कसरी काम गर्छ ? परीक्षण पनि गरियो,’ शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले भने ।

उनका अनुसार प्रतिनिधिसभामा ३५४ वटा र राष्ट्रिय सभामा ९४ वटा डिभाइस हरेक टेबलमा जडान हुनेछ । नयाँ संसद भवनमा जडान हुने प्रविधि अहिलेको संसद भवनको भन्दा आधुनिक हुनेछ ।

जसमा आफ्नो कुर्सीमा जडित डिभाइसबाट मतविभाजनका क्रममा मत दिन सकिने, संसदमा प्रस्तुत विधेयकहरु र अन्य डकुमेन्ट सिधै डिभाइसमा हेर्न मिल्नेछ भने संसदको क्यामेरा सिस्टम पनि डिभाइसमा आधारित हुनेछ ।

संसद भवनको निर्माण कार्यसँगै संसदभित्रको प्राविधिक पक्ष उन्नत बनाउनुपर्ने उपप्रधानमन्त्री सिंहले जोड दिएका छन् । नयाँ प्रविधिले संसदको कामकारबाहीलाई सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

नयाँ संसद भवनको कन्फ्रेन्सिङ सिस्टमबारे उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहसहित संघीय संसदका महासचिव, सचिव, सचिवालयका प्रतिनिधिहरुबीच नयाँ प्रणालीले कसरी काम गर्छ भनेर परीक्षण गरेर देखाइएको थियो ।